×

वीरगञ्ज । प्रधानमन्त्री बालेन शाहले संसद्मा दिएको अभिव्यक्तिको विरोधमा आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएका थिए। उक्त अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठनले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो।

प्रदर्शनकारीहरूले ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’ लगायतका नाराबाजी गर्दै प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाएका थिए। उनीहरूले सीमा सम्बन्धी जस्तो संवेदनशील विषयमा सरकार प्रमुखले तथ्य र प्रमाणका आधारमा मात्र अभिव्यक्ति दिनुपर्ने माग समेत गरेका छन्।

प्रदर्शनका क्रममा सहभागीहरूले प्रधानमन्त्रीको भनाइले राष्ट्रिय स्वाभिमान र सीमा सम्बन्धी विषयमा अन्योल सिर्जना गरेको आरोप लगाउँदै त्यसबारे स्पष्ट धारणा सार्वजनिक गर्न सरकारसँग माग गरेका थिए।

प्रधानमन्त्री शाहको उक्त अभिव्यक्तिपछि राजनीतिक वृत्त तथा सामाजिक सञ्जालमा समेत विभिन्न प्रतिक्रिया आइरहेका छन्।

Back to top