×

वीरगञ्ज । यातायात व्यवस्था कार्यालय वीरगञ्जको लेखा शाखामा राजस्व सङ्कलन र नगदी रसिद वितरण प्रक्रियामा अनियमितता भएको आरोप सार्वजनिक भएको छ । विभिन्न स्रोत तथा सेवाग्राहीहरूले कार्यालयका केही कर्मचारीहरूको संलग्नतामा दैनिक लाखौँ रुपैयाँ बराबरको राजस्व हिनामिना हुने गरेको दाबी गरेका छन् ।

स्रोतका अनुसार लेखा प्रमुख दिनेश प्रसाद पण्डितको निर्देशनमा लेखा शाखामा कार्यरत केही कर्मचारी तथा कार्यालय सहयोगीमार्फत सेवाग्राहीसँग अनावश्यक झमेला सिर्जना गरी अतिरिक्त रकम असुल्ने र राजस्व व्यवस्थापन प्रक्रियामा अनियमितता हुने गरेको आरोप लगाइएको छ ।

सेवाग्राहीहरूले बैंकमा राजस्व दाखिला गरेपछि नगदी रसिद लिन जाँदा विभिन्न बहाना देखाएर दुःख दिने तथा केही अवस्थामा अतिरिक्त रकम माग्ने गरिएको भुक्तभोगीहरूको भनाइ छ । यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाअनुसार आवश्यक नपर्ने कागजातसमेत माग गरी सेवाग्राहीलाई हैरानी दिने गरिएको आरोपसमेत लगाइएको छ ।

स्रोतले केही सेवाग्राही तथा लेखनदाससँग एकमुष्ट रकम सङ्कलन गरी राजस्व दाखिला प्रक्रियामा गडबडी गरिएको दाबी गरेको छ । बैंकमा दाखिला भएको रकम र कार्यालयले जारी गरेको नगदी रसिदबिच फरक देखिने गरेको आरोप पनि सार्वजनिक भएको छ ।

यस विषयमा कार्यालयका सूचना अधिकारी टेकविक्रम शाहसँग चालु आर्थिक वर्षको राजस्व विवरणबारे जिज्ञासा राख्दा आर्थिक वर्ष समाप्त भएपछि मात्र विवरण उपलब्ध गराउन सकिने जवाफ आएको बताइएको छ ।

यस्तै, सवारी कर निर्धारण प्रक्रियामा समेत अनियमितता भएको आरोप लगाइएको छ। स्रोतका अनुसार लामो अवधिदेखि कर नतिरेका सवारीधनीसँग मिलेमतो गरी सरकारी राजस्वमा क्षति पुर्‍याउने कार्य भएको हुन सक्ने आशङ्का व्यक्त गरिएको छ ।

आरोप सार्वजनिक भएपछि सम्बन्धित निकायहरू, विशेष गरी मधेस प्रदेश अर्थ मन्त्रालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सम्पत्ति शुद्धीकरण विभागले निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग उठ्न थालेको छ ।

यद्यपि समाचार तयार पार्दासम्म आरोपित कर्मचारी तथा कार्यालय प्रमुखको औपचारिक प्रतिक्रिया प्राप्त हुन सकेको छैन । आरोपबारे सम्बन्धित पक्षको धारणा प्राप्त भएमा त्यसलाई पनि समावेश गरिनेछ ।

Back to top