×

फाइल तस्बिर ।

वीरगञ्ज । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निमोनिया सङ्क्रमण भएपछि अस्पताल भर्ना भएका छन् ।

उनका मुख्य स्वकीय सचिव गोविन्द आचार्यका अनुसार प्रचण्डलाई शनिवार बिहान ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो ।

तीन दिनदेखि रुघाखोकी र ज्वरोले अस्वस्थ रहेका प्रचण्डको थप जाँच गर्दा हल्का निमोनिया र रगतमा सङ्क्रमण देखिएपछि चिकित्सकको सल्लाहमा अस्पतालमै राखेर उपचार सुरु गरिएको हो ।

‘रुघा र ज्वरोका साथै हल्का निमोनियाका कारण उहाँलाई अस्पताल भर्ना गरेर उपचार गरिरहेका छौँ । उहाँको स्वास्थ्यमा क्रमशः सुधार भइरहेको छ,’ आचार्यले जानकारी दिए ।

अस्वस्थताका कारण प्रचण्ड शुक्रवार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुँदा सङ्घीय संसद्को बैठकमा सहभागी हुन सकेका थिएनन् ।

हाल उनको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार जारी रहेको बताइएको छ ।

Back to top