वीरगञ्ज । आर्थिक अवस्था कमजोर भएका तर पढाइमा अब्बल विद्यार्थीहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘प्रोजेक्ट शिक्षा’ छात्रवृत्ति कार्यक्रमअन्तर्गतको इन्ट्रान्स परीक्षा शुक्रवार सम्पन्न भएको छ ।
सावर एक्सन नेपाल, रुटिन अफ नेपाल बन्द तथा १०० ग्रुप र एनसेल फाउन्डेसनको साझेदारीमा स्टडी स्पेयर, दारी क्लब यूएसएलगायातका संघसंस्थाहरूको सहयोगमा सञ्चालित उक्त कार्यक्रमका लागि प्रवेश परीक्षा पर्साको वीरगञ्जस्थित ब्राइट पब्लिक स्कुलमा आयोजना गरिएको थियो ।
परीक्षा नियन्त्रक तथा १०० ग्रुप पर्साका कोषाध्यक्ष आशिष् गुप्ताका अनुसार परीक्षामा २१० जना विद्यार्थी सहभागी भएका थिए । उनका अनुसार इन्ट्रान्स परीक्षाबाट छनौट भएका विद्यार्थीहरूले काठमाडौँमा बसेर निःशुल्क रूपमा प्लस टु अध्ययन गर्ने अवसर प्राप्त गर्नेछन् । विद्यार्थीहरूलाई पढाइसँगै खाने–बस्ने सुविधा समेत उपलब्ध गराइनेछ ।
आर्थिक अभावका कारण उच्च शिक्षा अध्ययनमा समस्या भोगिरहेका तथा प्रतिभाशाली विद्यार्थीलाई लक्षित गर्दै सञ्चालन गरिएको ‘प्रोजेक्ट शिक्षा’ विगत ९ वर्षदेखि निरन्तर रूपमा क्रियाशील छ । कार्यक्रममार्फत देशका विभिन्न जिल्लाबाट प्रवेश परीक्षा सञ्चालन गरी योग्य विद्यार्थी छनौट गरिन्छ । यसले ग्रामीण तथा विपन्न समुदायका विद्यार्थीलाई गुणस्तरीय शिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको छ ।
गुप्ताका अनुसार छात्रवृत्तिले विद्यार्थीको शैक्षिक भविष्य सुनिश्चित गर्नुका साथै उनीहरूको आत्मविश्वास अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । विगतका वर्षहरूमा छनौट भएका विद्यार्थीहरू विभिन्न क्षेत्रमा उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् ।
परीक्षा सञ्चालनमा सरण गुप्ता, सोनाली महतो, सागर गुप्ता, अखिल पटेल, बिक्की सर्राफ, मधुरञ्जन साह, अभिषेक कुर्मी, सृष्टि अधिकारी, आरुषी शर्मा र आरुषा शाहलगायतले सहयोग गरेको गुप्ताले जानकारी दिए ।
कार्यक्रम आयोजकहरूले छात्रवृत्ति पहललाई आगामी वर्षहरूमा थप प्रभावकारी र विस्तारित बनाउने योजना रहेको समेत बताएका छन् ।