×

वीरगञ्ज ।  काठमाडौँ महानगरपालिकाले गोरखा मिडिया नेटवर्क प्रालिका नाममा १५ दिने सार्वजनिक सूचना जारी गर्दै ग्यालेक्सी फोरके टेलिभिजनसँग सम्बन्धित सरसामान तत्काल उठाउन आग्रह गरेको छ । तोकिएको अवधिभित्र सामान नलगिएमा प्रचलित कार्यविधिअनुसार लिलाम प्रक्रिया अघि बढाइने चेतावनीसमेत महानगरले दिएको छ ।

काठमाडौँ महानगरपालिका–३ निवासी मृगेन्द्रप्रसाद मिश्रसमेत वादी र गोरखा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई प्रतिवादी रहेको ‘भाडा असुल उपर गरी घरजग्गा खाली गराइपाऊँ’ सम्बन्धी मुद्दामा महानगरको न्यायिक समितिले १४ कात्तिक २०८१ मा वादीको पक्षमा फैसला गरेको थियो । उक्त निर्णयअनुसार प्रतिवादीबाट घरबहाल रकम तथा बहाल कर असुल गरी घरजग्गा खाली गराउन आदेश दिइएको थियो ।

निर्णय कार्यान्वयनमा ढिलाइ भएपछि २८ साउन २०८२ मा उच्च अदालत पाटनले दुई महिनाभित्र फैसला कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिकाका नाममा परमादेश जारी गरेको थियो । अदालतको आदेशपछि १४ कात्तिक २०८२ मा महानगरपालिकाको टोली खटिएर निर्णय कार्यान्वयन गरिएको जनाइएको छ ।

महानगरका अनुसार फैसला कार्यान्वयन भएको ६ महिना पूरा भएपछि वादी मिश्रले २१ वैशाख २०८३ मा ग्यालेक्सी फोके टेलिभिजनका बाँकी सरसामान लिलाम गरिपाऊँ भन्दै निवेदन दिएका थिए । सोही निवेदनका आधारमा महानगरले १५ दिने सार्वजनिक सूचना जारी गरेको हो ।

सूचनामा बाँकी बहाल रकम बुझाई १५ दिनभित्र आफ्नो सरसामान लगी घर खाली गर्न अन्तिम अवसर दिइएको उल्लेख छ । अन्यथा, काठमाडौँ महानगरपालिका न्यायिक समितिको कार्यविधिअनुसार सामान लिलाम गरिने जनाइएको छ ।

उक्त टेलिभिजन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नेतृत्व तथा राईलगायतको लगानीमा सञ्चालनमा आएको थियो । रवि लामिछाने राजनीतिमा प्रवेश गरेको केही महिनापछि टेलिभिजन प्रसारण बन्द भएको थियो । अर्कोतर्फ राईमाथि विभिन्न सहकारीमार्फत रकम ठगी गरेको आरोप छ । उनी अहिले फरार छन् ।

Back to top