वीरगञ्ज । वीरगञ्जको आदर्शनगरस्थित बब्लु टी–स्टलमा दुई व्यवसायीबीच भएको विवादले केही समय तनावको अवस्था सिर्जना गरेको छ ।
मदिरा उत्पादक संघका केन्द्रीय सचिव अजय प्रजापति तथा विश्रामपुर गाउँपालिका ठूलो इटियाही टोल निवासी प्रजापति र श्रीराम मनी चेन्जरका सञ्चालक रामबाबु सिंह बीच सुरुमा आदर्शनगरस्थित बब्लु टी–स्टल अगाडि विवाद चर्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । विवाद बढ्दै जाँदा दुबै पक्षबीच हात हालाहालको स्थिति उत्पन्न भएको थियो ।
स्थानीयका अनुसार घटनास्थलमा रहेका व्यक्तिहरूले तत्काल हस्तक्षेप गरी दुबै पक्षलाई छुट्याएर अवस्था सामान्य बनाउने प्रयास गरेका थिए । तर केही समयपछि माइस्थानस्थित गहवामाई मन्दिर अगाडि पुनः दुबै पक्षबीच झडप भएको बताइएको छ ।
प्रत्यक्षदर्शीहरूका अनुसार विवादका क्रममा दुबै पक्षबीच गालीगलौज तथा हात हालाहाल भएको थियो । घटनापछि माइस्थान क्षेत्रमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको र सर्वसाधारणको भीड लागेको स्थानीयहरूले बताएका छन् ।
हालसम्म झडपको वास्तविक कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीको आधिकारिक धारणा आउन बाँकी रहेको छ ।