वीरगञ्ज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासको टोलीले महोत्तरीकै सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवलाई ७२ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको छ ।
बर्दिबासबाट खटिएको अख्तियारको टोलीले यादवलाई सडक ढलान योजनाको रकम निकासा गरिदिने नाममा अवैध रकम लिइरहेको अवस्थामा शुक्रवार पक्राउ गरेको हो ।
आयोगका अनुसार यादवले सार्वजनिक पदको दुरुपयोग गर्दै व्यक्तिगत लाभका लागि उपभोक्ता समितिसँग गैरकानुनी रूपमा रकम माग गरेका थिए ।
उनले सोनमा गाउँपालिका–२ स्थित मस्जिददेखि साजिदको घरसम्म निर्माण गरिएको सडक ढलान योजनाको विनियोजित बजेटबाट रकम माग गरेको आरोप छ ।
घुस लेनदेन भइरहेको सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनलाई रकमसहित नियन्त्रणमा लिएको हो । पक्राउपछि यादवमाथि थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जनाएको छ ।