×

पर्साको सामाजिक क्षेत्रमा पछिल्लो समय सक्रिय र चर्चित नामका रूपमा उदाएका तेज शमशेर जबरा अहिले वीरगञ्जको राजनीतिक वृत्तमा पनि चासोका साथ हेरिन थालेका छन् । विशेषगरी युवापुस्तामाझ लोकप्रिय बन्दै गएका जबराको नाम आगामी स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर पदका सम्भावित उम्मेदवारका रूपमा चर्चामा आउन थालेको छ ।

तेज शमशेर जबराको जन्म विक्रम सम्वत् २०३७ साल भदौ २९ गते पर्सा जिल्लाको रानीगञ्ज, पोखरियामा भएको हो । उहाँका पिता पवित्र शमशेर जबराको जिल्ला प्रशासन कार्यालय वीरगञ्जमा सरुवा भएपछि परिवार वीरगञ्ज बसाइँ सरेको थियो । त्यसपछि उहाँको बाल्यकाल र किशोरावस्थाको अधिकांश समय वीरगञ्जमै बित्यो ।

उहाँले प्रारम्भिक शिक्षा घण्टाघरस्थित चिल्ड्रेन्स वर्ल्ड इङ्लिस बोर्डिङ स्कूलबाट हासिल गर्नुभएको थियो । त्यसपछि माध्यमिक तहको अध्ययन श्री सिद्धार्थ माध्यमिक विद्यालय तथा त्रिजुद्ध माध्यमिक विद्यालय बाट पूरा गर्नुभएको हो ।

विद्यार्थी जीवनदेखि नै मिलनसार, सहयोगी तथा सामाजिक भावनाले प्रेरित व्यक्तित्वका रूपमा चिनिनुभएका जबरा सानैदेखि दुःखी, गरिब तथा असहाय नागरिकप्रति संवेदनशील रहेको उहाँलाई नजिकबाट चिन्नेहरू बताउँछन् । यही सामाजिक चेतना र मानवीय भावनाले उहाँलाई समाजसेवाको क्षेत्रमा सक्रिय बनाएको हो ।

पछिल्लो करिब एक दशकदेखि उहाँले सक्षम नेपाल सुधार केन्द्र सञ्चालन गर्दै आउनुभएको छ । लागूऔषध दुर्व्यसनमा फसेका युवालाई पुनः समाजको मूलधारमा फर्काउने उद्देश्यले स्थापना गरिएको उक्त संस्थामार्फत हजारौं युवाको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सफल भएको स्थानीयवासीहरूको भनाइ छ ।

विशेषगरी कुलतमा फसेका युवालाई परामर्श, उपचार तथा पुनःस्थापनामार्फत नयाँ जीवन प्रदान गर्ने कार्यमा उहाँको योगदानलाई समाजले सकारात्मक रूपमा लिएको छ । सामाजिक सेवामार्फत जनतासँग प्रत्यक्ष सम्बन्ध बनाउँदै आएका जबरा पछिल्लो समय वीरगञ्जको विकास, युवा नेतृत्व, रोजगारी तथा सामाजिक रुपान्तरणका विषयमा समेत सक्रिय रूपमा आवाज उठाउँदै आएका छन् ।

वीरगञ्जको ऐतिहासिक पृष्ठभूमिसँग पनि जबरा परिवारको नाम जोडिएको पाइन्छ । इतिहासअनुसार वीरगञ्ज नगरीको नामकरण नै उहाँका बाजेबराजु वीर शमशेर जबराको नामबाट भएको मानिन्छ । यही ऐतिहासिक विरासत र सामाजिक सक्रियताका कारण तेज शमशेर जबराप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको विश्लेषण गर्न थालिएको छ ।

हालसम्म उहाँले कुनै औपचारिक राजनीतिक घोषणा नगरे पनि सामाजिक अभियान, जनसम्पर्क र युवामाझ बढ्दो लोकप्रियताका कारण आगामी स्थानीय तह निर्वाचनमा उहाँको भूमिका के हुन्छ भन्ने विषय वीरगञ्जको राजनीतिक वृत्तमा चासोको विषय बनेको छ ।

अब वीरगञ्जवासीले सामाजिक अभियन्ताका रूपमा परिचित तेज शमशेर जबरालाई राजनीतिक नेतृत्वका रूपमा कत्तिको विश्वास र समर्थन दिन्छन् भन्ने प्रश्न आगामी दिनमा अझ महत्वपूर्ण बन्ने देखिएको छ ।

Back to top