वीरगञ्ज । पर्साको पोखरिया नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा औषधी तथा सर्किजल सामग्री खरिद गर्दा सार्वजनिक खरिद ऐन तथा नियमावलीको पूर्ण पालना नगरेको पाइएको छ ।
महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा पोखरिया नगरपालिकाले खरिद प्रक्रिया व्यवस्थित नगरी लाखौँ रुपैयाँ खर्च गरेको उल्लेख गरिएको हो ।
प्रतिवेदनअनुसार सार्वजनिक खरिद नियमावली, २०६४ को नियम ८५ को उपनियम १ (क) मा २० लाख रुपैयाँसम्मको औषधिजन्य मालसामान उत्पादकसँगको सोझै खरिद गर्न सकिने व्यवस्था भए पनि नगरपालिकाले विभिन्न कोटेसनमार्फत औषधि खरिद गरी भुक्तानी दिएको उल्लेख छ ।
महालेखाले औषधि खरिद गर्दा आवश्यक वार्षिक खरिद योजना तयार नगरेको, आपूर्ति हुने औषधि तथा औषधिजन्य सामग्रीको सम्पूर्ण विवरण खुलाइएको सूचना नराखिएको तथा औषधिको प्रयोग र मौज्दातको एकीकृत अभिलेख नराखिएको जनाएको छ ।
यस्तै, आपूर्ति गरिएका औषधि तथा सामग्री स्टोर दाखिला गर्नु अघि स्पेसिफिकेसनअनुसार भए/नभएको परीक्षणसमेत नगरिएको प्रतिवेदनमा उल्लेख छ । महालेखाले औषधि खरिद, उपयोग र मौज्दात व्यवस्थापनलाई व्यवस्थित तथा पारदर्शी बनाउन नगरपालिकालाई सुझाव दिएको छ ।
प्रतिवेदनअनुसार नगरपालिकाले विभिन्न फर्ममार्फत औषधि तथा सर्किजल सामग्री खरिद गर्दा कुल ३५ लाख ७ हजार ४ सय ६९ रुपैयाँ भुक्तानी गरेको देखिएको छ ।
भुक्तानी पाउने फर्महरूमा डायनामिक सर्किजल हबलाई सर्किजल सामग्रीबापत ५ लाख ११ हजार ७०० रुपैयाँ, पशुपतिनाथ आयुर्वेद भवन प्रालिलाई आयुर्वेद औषधिबापत ७ लाख ९१ हजार ५७० रुपैयाँ, शिव मेडि कन्सर्नलाई औषधि खरिदबापत १९ लाख ५६ हजार ३०५ रुपैयाँ तथा इलाइट मेडिहेल्थ कन्सर्न प्रालिलाई औषधि खरिदबापत १ लाख ४८ हजार ८९४ रुपैयाँ भुक्तानी गरिएको उल्लेख छ ।
महालेखापरीक्षकको कार्यालयले औषधि खरिदसम्बन्धी प्रक्रिया पारदर्शी, प्रतिस्पर्धी र नियमसम्मत बनाउन आवश्यक सुधार गर्न सुझाव दिएको छ ।