वीरगञ्ज । “महिला र बालबालिकाका लागि न्याय र संरक्षण सेवाहरूमा पहुँच सुदृढ गर्दै” भन्ने उद्देश्यका साथ संयुक्त राष्ट्र संघ परियोजना सेवा कार्यालय (UNOPS) अन्तर्गत नेपाल प्रहरीमा सञ्चालित सुरक्षा तथा न्याय कार्यक्रम (SJP) मार्फत जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा निर्माण गरिएको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रहरी संगठन प्रमुख दानबहादुर कार्कीले नवनिर्मित भवनको समुद्घाटन गरेका हुन् । उहाँले रिबन काटेर तथा शिलालेख अनावरण गर्दै भवनको औपचारिक उद्घाटन गर्नुभएको हो।
कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक कार्कीले महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूलाई सहज, सुरक्षित र संवेदनशील वातावरणमा सेवा प्रदान गर्ने उद्देश्यले सेवा केन्द्र स्थापना गरिएको बताउनुभयो। उहाँले पीडितमैत्री सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन यस्ता संरचनाले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।
कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलम, पर्सा जिल्ला अदालतका जिल्ला न्यायाधीश गायत्रीप्रसाद रेग्मी, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायत विभिन्न सुरक्षा निकाय, न्यायिक क्षेत्र, स्थानीय तह तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
त्यस्तै राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख प्रहरी उपरीक्षक ग्यानेन्द्र बस्नेत, राष्ट्रिय अनुसन्धान विभाग पर्साका उपअनुसन्धान निर्देशक सन्तोष ढुंगाना, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोविन्द थपलिया तथा नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइराला को पनि कार्यक्रममा सहभागिता रहेको थियो ।
UNOPS का सञ्चालन संयोजक इन्द्र न्यौपाने, पूर्वाधार प्रबन्धक शिशिर उपाध्याय तथा लैङ्गिक समानता तथा सामाजिक समावेश (GESI) अधिकारी कृति थापा पनि कार्यक्रममा उपस्थित थिए ।
यस अवसरमा जिल्ला सरकारी वकिल कार्यालय पर्साका प्रमुख जिल्ला न्यायाधिवक्ता मनोजप्रसाद गुप्ता, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल, उद्योग वाणिज्य संघ वीरगञ्जका अध्यक्ष हरि गौतम तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदीप राज पाठक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा समुदाय र प्रहरीबीचको विश्वास, सहकार्य तथा निरन्तर संवादमार्फत दिगो शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्नुपर्नेमा जोड दिइएको थियो । उद्घाटन समारोहको प्रारम्भमा राष्ट्रिय गान प्रस्तुत गरिएको थियो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक सोनी न्हेम्हाफुकीले गरेकी थिइन् ।