×

फाइल तस्बिर ।

वीरगञ्ज । पछिल्लो समय सरकारले सीमावर्ती क्षेत्रमा भन्सार जाँचमा कडाइ गरेपछि वीरगञ्ज बजारमा क्रमशः ग्राहकको चहलपहल बढ्दै गएको व्यवसायीको भनाइ छ ।

सबैजसो समान किनमेल गर्न सीमा पारी नै जानु सामान्यजस्तै थियो तर भन्सारमा कडाइ सुरु भएसँगै व्यापार २५ प्रतिशतले बढेको व्यवसायीको भनाइ छ ।

सीमा क्षेत्रबाट हुने अवैध व्यापार रोक्न सकेको खण्डमा व्यापार पहिलेको तुलनामा ५० प्रतिशतले बढ्ने अपेक्षा छ । स्थानीय व्यापारी जयप्रकाश खेतानले भन्सार क्षेत्रमा सरकारले कडाइ गरेसँगै आफ्नो पसलमा पहिलेको तुलनामा ३० प्रतिशत बढी व्यापार हुन थालेको बताए ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले सरकारले सीमावर्ती क्षेत्रमा कडाइ गरेसँगै अनौपचारिक ढङ्गले हुने आयातमा कमी आउने बताए ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद गौतमले सीमावर्ती क्षेत्रमा १०० भन्दा धेरैको  सामान ल्याउने प्रावधानका कारण सीमा क्षेत्रका बासिन्दाका लागि उपयुक्त नभएको बताए ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू आर्थिक वर्षको ९ महिनामा ६ खर्ब ९४ अर्ब ५ करोड रुपैयाँ पर्ने वस्तु तथा सामान आयात भएको छ । यो वस्तु तथा सामान आयात हुँदा कार्यालयले यो अवधिमा १ खर्ब ७७ अर्ब ६६ करोड राजस्व सङ्कलन गरेको छ ।

Back to top