×

आईसीसी टी- २० विश्वकपको तयारीका लागि श्रीलंका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज आयोजक श्रीलंका ‘ए’ विरुद्ध तेस्रो तथा अन्तिम अभ्यास खेल खेल्दैछ। 

अघिल्ला दुवै खेलमा पराजित भएको नेपालका लागि आजको खेल प्रतिष्ठा जोगाउने र आफ्नो कमजोरी सुधार्ने अन्तिम अवसर हुनेछ। यसअघि भएको पहिलो अभ्यास खेलमा नेपाल ६ विकेटले पराजित भएको थियो भने दोस्रो खेलमा ७३ रनको भारी अन्तरले हार बेहोरेको थियो । 

दोस्रो खेलमा श्रीलंका ’ए’ ले दिएको २२३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १४९ रन बनाउन सकेको थियो । शनिबारको खेल सकिएलगत्तै नेपाली टोली थप तयारीका लागि भारतको मुम्बई प्रस्थान गर्ने तालिका छ। मुम्बईमा नेपालले एमसीए प्रेसिडेन्ट्स ११ सँग दुईवटा अभ्यास खेल खेल्नेछ। 

फेब्रुअरी ७ देखि भारत र श्रीलंकामा संयुक्त रूपमा शुरु हुने विश्वकपमा नेपालले आफ्नो पहिलो खेल फेब्रुअरी ८ मा बलियो प्रतिद्वन्द्वी इंग्ल्याण्डसँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ ।

Back to top