×

वीरगञ्ज । मधेस प्रदेशका पूर्व राज्यमन्त्री तथा प्रदेशसभा सदस्य रहबर अन्सारीले नेकपा (माओवादी केन्द्र) बाट राजीनामा दिएका छन् । बिहीबार मात्रै हुलाकमार्फत पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा पत्र पठाउँदै उनले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

यसअघि मधेस प्रदेशसभामा तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनललाई विश्वासको मत नदिई फ्लोर क्रस गरेका अन्सारीमाथि माओवादीले कारबाहीको तयारी गरिरहेको थियो । पार्टी ह्विप विपरीतको उनको कदमको कारण उनको साधारण सदस्यता समेत खारेज हुने अवस्था थियो । साथै, आगामी प्रतिनिधिसभा निर्वाचनमा टिकट नपाउने निश्चित भएपछि उनले माओवादी त्यागेर रास्वपा  प्रवेश गर्ने कदम चालेको निकट स्रोतहरूको भनाइ छ ।

अन्सारीको राजीनामापछि उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने व्यापक चर्चा चलेको छ । रास्वपा निकट स्रोतहरूका अनुसार केही दिनभित्रै औपचारिक प्रवेश हुने सहमति भएको बताइएको थियो । उनी पर्सा–१ वा बारा–४ बाट आगामी सङ्घीय निर्वाचन लड्ने तयारीमा रहेको उनी निकट स्रोतले यात्रा डेलीलाई जानकारी दिए ।

यद्यपि अन्सारीले बारा–४ लाई पहिलो प्राथमिकता दिएको चर्चा छ । यसअघि पर्सा १ (क) बाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भई राज्य मन्त्री बनेर पनि उनले मतदाताहरूको अपेक्षा अनुसार काम गर्न सकेका छैनन् । पर्सा – १ बाट निर्वाचन लड्दा परिणाम आफ्नो पक्षमा आउन नसक्ने देखेपछि उनले बारा – ४ लाई रोजेको अनुमान गरिएको छ ।

अर्कोतर्फ पर्सामा रास्वपाका जिल्ला सभापति हरि पन्तको उम्मेदवारीका कारण पनि बारा–४ सुरक्षित विकल्प बनेको अनुमान गरिएको छ । पन्तलाई पर्सा – १ का मतदाताहरूले पनि रुचाएका छन् । केही दिन अघि स्थानीय सञ्चार माध्यमले गरेको एउटा सर्वेक्षणमा पनि पर्सा – १ का मतदाताहरूले पन्तलाई ७४ प्रतिशत मत दिँदा अन्सारीलाई केवल ३ प्रतिशत मत दिएका थिए ।  

अन्सारी लामो समयदेखि काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) निकट व्यक्तिहरूसँग संवाद बढाएका थिए । बालेनसँग वैकल्पिक शक्तिको सहकार्यको प्रयास गरेका उनी हाल रास्वपा–बालेन–उज्यालो नेपालको वैकल्पिक गठबन्धनतर्फ आकर्षित भएको देखिन्छ । तर हालसम्म रास्वपाबाट अन्सारीको प्रवेशको औपचारिक घोषणा वा पुष्टि भएको छैन ।

अन्सारीको राजनीतिक करियर स्टन्टबाजी र विवादले भरिएको छ । वीरगञ्जमा सिमेन्ट माफियाविरुद्ध बोरा लगाएर र्‍याली निकालेका उनी अभियान सेलाएपछि माफियासँग सम्झौता गरेको आरोप लागेको थियो । घण्टाघरमा कपडा खोलेर विरोध, प्रदेशसभामा आफ्नै अनुहारमा कालो मोसो दल्ने नाटकीय प्रदर्शन आदि घटनाले उनलाई ‘स्टन्ट गर्ने नेता’ को छवि बनाएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा वीरगञ्ज मेयरको भाइरल भिडियो बनाएर चर्चामा आएका उनी चौथो स्थानमा सीमित भएका थिए । प्रतिनिधिसभा निर्वाचनमा पनि पराजित भएका उनी २०७९ मा मात्र पर्सा–१ (क) बाट प्रदेशसभा सदस्य बने । मन्त्री र सांसद भए पनि आफ्नो क्षेत्रमा उल्लेख्य काम नगरेको आरोप छ ।

वीरगञ्जका स्थानीय युवाहरूले अन्सारीको सम्भावित रास्वपा प्रवेशप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । जेन–जी युवा विक्की सर्राफले मधेस र जेन-जी आन्दोलनमा कुनै योगदान नदिएका, जितेपछि क्षेत्रमा काम नगरेका रहबर जस्ता अवसरवादी नेतालाई रास्वपाले भित्र्याउनु जेन–जी भावना विपरीत हुने बताए । उनले रहबरको प्रवेशले पार्टीको युवा र वैकल्पिक छवि धुमिल हुने दाबी गरे ।

जेन–जी पर्साका अध्यक्ष विशेष साहले रास्वपा जेन–जी आन्दोलनसँग जोडिएको पार्टी भएको कारण आन्दोलनमा भूमिका नखेलेका व्यक्तिलाई प्रवेश गराएर चुनाव लडाए आफूहरूले विद्रोह गर्ने चेतावनी दिए ।

त्यस्तै वीरगञ्ज–१० का पवन साह कानुले स्टन्ट गरेर मिडियामा आउने तर जनताबिच नरहने व्यक्तिलाई रास्वपाले प्राथमिकता दिनु गलत भएको बताए । “राम्रा र स्वच्छ छविका युवालाई अवसर दिनुपर्छ, रहबरले जेन-जी आन्दोलनको आडमा आफ्नो राजनीति जोगाउन मात्र खोजेको उनले आरोप लगाए ।

अर्की जेन–जी युवा सृष्टि चौधरीले रहबर बोल्न राम्रो भए पनि काम गर्न नसक्ने व्यक्ति भएको बताइन । “नारायणी रङ्गशाला, सिर्सिया नदी, तिलावे पुलजस्ता मुद्दामा कहिल्यै आवाज उठाउनुभएन । हामीलाई केपी ओलीजस्तै बोल्ने अर्को मान्छे चाहिँदैन, काम गर्ने मान्छे चाहियो । रहबर अन्सारीलाई हामीले देखिसक्यौँ,” उनले भनिन् ।

अन्सारीको रास्वपा प्रवेश गर्ने खबरले पर्साको राजनीतिमा तरङ्ग ल्याए पनि उनको विवादित इतिहासका कारण रास्वपा जस्तो युवा–केन्द्रित पार्टीमा प्रवेशले फाइदा कि घाटा गर्ला, हेर्न बाँकी छ । रास्वपाले वैकल्पिक राजनीतिको ब्रान्ड बनाइरहेका बेला यस्ता प्रवेशले पार्टीको छविमा असर पर्न सक्ने विश्लेषण छ ।

Back to top