×

टिटपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र न्युडायमन्ड युथ स्पोर्ट्स क्लबले शनिबार नवौँ एनभिए भलिबल च्याम्पियनसिपमा उपाधि जितेका छन् । टिपटप पुरुष र न्यु डायमन्ड महिला वर्गमा च्याम्पियन बनेका हुन् ।

राखेपको कभर्ड हलमा भएको फाइनलमा हेल्प नेपालले त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा २५–२१, २५–२१, २५–२१ ले सजिलै पराजित गर्यो‍। हेल्प नेपालको यो उपाधिमाथि ह्याट्रिक भएको छ।

हेल्प नेपालले पहिलो उपाधि जित्नुअघि त्रिभुवन आर्मी एनभिए भलिबलको च्याम्पियन  यो । यी दुई टिमले लगातार चौथो पटक उपाधि भिडन्त गरेका हुन्।

हेल्प नेपालको जितमा यसपालि पनि तीन आयातित पाकिस्तान खेलाडीको साथ रह्यो । यसै गरी हेल्प नेपाल यस पटक अपराजित यात्रासहित च्याम्पियन बनेको हो । हेल्प नेपालले ट्रफीसँगै पाँच लाख रुपियाँ प्राप्त ग¥यो । आर्मीले दुई लाख ५० हजार रुपियाँमा चित्त बुझायो ।

महिला वर्गको फाइनलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई २५–१८, २५–१९, २५–१८ ले सोझो सेटमा हरायो। न्यु डायमन्ड पनि प्रतियोगितामा अपराजित रहेर उपाधि विजेता बनेको हो।

फाइनलअघि पुलिस पनि अपराजित थियो । पुलिसको उपाधि रक्षा अभियान फाइनलमा आएर असफल भएको हो । न्यु डायमन्डको यो दोस्रो एनभिए भलिबल उपाधि हो ।

चार वर्षअघि न्यु डायमन्ड पहिलो पटक च्याम्पियन बनेको थियो । यसपालि स्पाइकर प्रतिभा मालीको टिममा पुनरागमनले पनि न्यु डायमन्ड क्लब बलियो बनेको थियो । न्यु डायमन्डले ट्रफीसँगै पाँच लाख र उपविजेता आर्मीले दुई लाख ५० हजार रुपियाँ प्राप्त गरे ।

पुरुष वर्गमा नेपाली पुलिस क्लबले रुकुमपश्चिम ट्रेनिङ सेन्टरलाई पाँच सेटमा २५–२७, २३–२५, २६– २४, २५–२२, १५–१० ले हराएर तेस्रो स्थान हासिल ग¥यो । महिला वर्गमा तेस्रो स्थानका लागि भएको खेलमा भने एपिएफले त्रिभुवन आर्मी क्लबलाई सजिलै २५–१३, २५–१७, २५–१० ले पराजित गर्यो‍।

हेल्प नेपालका पाकिस्तानी खेलाडी फखर उदिन र न्यु डायमन्डकी प्रतिभा प्रतियोगिताकै सर्वश्रेष्ठ खेलाडी घोषित भएन् । दुवैले जनही २५ हजार रुपियाँ प्राप्त गरे । अन्य विधागततर्फ हेल्प नेपालका चिरञ्जीवी खड्का उत्कृष्ट सर्भर, मुवासर राजा उत्कृष्ट स्पाइकर र उत्सव खड्का उत्कृष्ट प्रशिक्षक चुनिए।

आर्मीका दुर्गाबहादुर खड्का उत्कृष्ट ब्लकर र हरिहजुर थापा उत्कृष्ट सेटर बने। पुलिसका भीमबहादुर गाहाले उत्कृष्ट लिबेरोको पुरस्कार प्राप्त गरे।

महिलातर्फ न्यु डायमन्डकी सुमित्रा रेग्मी उत्कृष्ट ब्लकर, प्रगति नाथ उत्कृष्ट सेटर र सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो चुनिए। न्यु डायमन्डकै कुमार राईलाई उत्कृष्ट प्रशिक्षकको सम्मान प्रदान गरियो। यसै गरी पुलिसकी सरस्वती कँडेल  उत्कृष्ट सर्भर र एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर बनिन्।

प्रतियोगितामा पुरुषतर्फ १२ तथा महिलातर्फ आठ टिम सहभागी थिए। यो प्रतियोगिताबाट प्रधानमन्त्री कप लिगका लागि छनोट पनि हो।

पुरुषतर्फ विभागीय टोलीहरू एपिएफ, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुन्द भलिबल क्लब (लुम्बिनी), कोशी प्रदेश भलिबल सङ्घ, बुढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब (काठमाडौँ), खिल्जी युवा क्लब (लुम्बिनी) र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र (काठमाडौँ) को पनि सहभागिता रहेको थियो ।

महिलातर्फ एभरेस्ट भलिबल क्लब (बुटवल) चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेशप्रदेश खेलकुद परिषद्ले पनि प्रतिस्पर्धा गरेका थिए।

Back to top