×

रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका–९ स्थित ज्योति डिस्टिलरीमा शनिवार बिहान बोइलर विस्फोट हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना कामदार घाइते भएका छन् । शक्तिशाली विस्फोटले डिस्टिलरी परिसरमा व्यापक क्षति पुर्‍याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार मृतकको पहिचान कटहरिया नगरपालिका–९ बलुवा बस्ने ४५ वर्षीय लक्ष्मण यादवको रूपमा भएको छ । रौतहट प्रहरीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डिएसपी) विष्णुप्रसाद बस्यालले घटनास्थलमै यादवको मृत्यु भएको पुष्टि गरेका छन् ।

विस्फोटमा घाइते हुनेहरूमा कटहरिया नगरपालिका–८ का ४५ वर्षीय रहमोद आलम, ३५ वर्षीय प्रमजित यादव, ५१ वर्षीय जगदीश यादव, ५५ वर्षीय बिगन यादव, ४० वर्षीय कैलाश माली तथा गरुडा नगरपालिका–५ महमदपुर बस्ने ४० वर्षीय मुकेश यादव रहेका छन् ।

घाइतेहरूको हातखुट्टा डढेको र केहीको अवस्था गम्भीर रहेको बताइएको छ । उनीहरूलाई थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाए लगत्तै प्रहरी टोली घटनास्थलमा पुगेको छ र अनुसन्धान जारी रहेको छ । स्थानीयवासीहरूले डिस्टिलरी सञ्चालकको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन् । पूर्व मन्त्री तथा रौतहटका पूर्व सांसद प्रभु साहले पनि सञ्चालकको लापरबाही रहेको भन्दै घटनाको छानबिनको माग गरेका छन् ।

यस्ता औद्योगिक दुर्घटनाहरूले कामदारहरूको सुरक्षा र उद्योगहरूमा सुरक्षा मापदण्डको कडाइका साथ पालना गर्नुपर्ने आवश्यकता पुनः उजागर गरेको छ । घटनाको विस्तृत कारण अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीको भनाइ छ ।

Back to top