बंगलादेशमा लामो समयसम्म प्रमुख विपक्षी दल रहेको बीएनपी पार्टीका अध्यक्ष तारिक रहमान आज स्वदेश फर्किँदै छन्।
पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा रहमान १७ वर्षपछि स्वदेश फर्किन थालेपछि राजधानी ढाकाको सुरक्षा व्यवस्था कडा पारिएको छ। तत्कालीन प्रधानमन्त्री शेख हसिनाको शासनकालमा ज्यान जोगाउन लण्डन भागेका रहमानको स्वागतका लागित बीएनपी पार्टीले एक लाख कार्यकर्ता विमानस्थलबाहिर उतार्न लागेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
जसका कारण बिहानैदेखि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ। आगामी फेब्रुअरीका लागि घोषित निर्वाचनको मिति नजिकिँदै गर्दा बंगलादेशमा हिंसात्मक घटना बढ्दै गएका छन्। यहीबीचमा रहमान स्वदेश फर्किन लागेका हुन्।
यता, रहमानको स्वदेश फिर्तीको पूर्वसन्ध्यामा राजधानी ढाकामा बम विस्फोटका आवाज सुनिएका छन्।
गएराति केही व्यक्तिहरूले एक फ्लाइओभरबाट फालेको बम विस्फोट भएको छ। जसमा परी कम्तिमा एक जनाको मृत्यु भएको छ। राजनीतिक उथलपुथल, अल्पसंख्यकमाथि आक्रमणको आरोप र आगामी आम निर्वाचन लगायतका विषयमा बंगलादेश दैनिकजसो अशान्त बन्दै गएको छ।