×

वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली काँग्रेसको उम्मेदवार सिफारिस प्रक्रियामा पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा ठूलो विवाद उत्पन्न भएको छ ।

युवा नेता राकेश यादवको नाम क्षेत्रीय कार्यसमितिले सिफारिस नगरेपछि उनले जिल्ला कार्यसमितिलाई आफ्नो नाम सिफारिस गर्न गरेको आग्रहलाई पनि बेवास्ता गरिएपछि पार्टीभित्र पुराना नेताहरूको नयाँ पुस्ताप्रतिको ‘डर’ स्पष्ट रूपमा देखिएको आरोप लागेको छ ।

गत मङ्सिर २२ गते आयोजित पर्सा निर्वाचन क्षेत्र नम्बर २ को क्षेत्रीय भेलाले प्रत्यक्षतर्फका उम्मेदवारका लागि पूर्व मन्त्री अजय चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य, युवा नेता राकेश यादव र मदन यादव गरी चार जनाको नाम सिफारिस गरेको थियो ।

भेलाकै दिन क्षेत्रीय सभापति मोहम्मद शहाबुद्दीनले सञ्चारमाध्यमसँग कुरा गर्दै चारै जनाको नाम सिफारिस भएको पुष्टि गरेका थिए । विभिन्न सञ्चारमाध्यममा पनि यादवसहितको नाम सिफारिस भएको समाचार सार्वजनिक भएको थियो ।

तर, क्षेत्रीय समितिद्वारा जिल्ला कार्यसमितिमा पठाइएको अन्तिम सिफारिस सूचीमा राकेश यादवको नाम हटाइएको थियो । यादवले आफ्नो नाम हटाउने कार्य पूर्व मन्त्री चौरसियाको प्रत्यक्ष दबाबमा भएको आरोप लगाएका छन् । क्षेत्रीय सभापति शहाबुद्दीनले यादवसँगको व्यक्तिगत भेटमा “अजय चौरसियाज्यूको दबाबमा नाम काट्न बाध्य भएको” भनी निरीह जवाफ दिएको यादवले खुलाएका छन् । यसले चौरसिया युवा नेताको बढ्दो लोकप्रियता र प्रतिस्पर्धाबाट डराएको प्रस्ट भएको यादव पक्षको ठहर छ ।

युवा नेता यादवले मङ्सिर २३ गते नै पार्टी विधानअनुसार ११ हजार रुपैयाँ दस्तुरसहित लिखित निवेदन क्षेत्रीय सभापतिलाई बुझाएका थिए । निवेदन र दस्तुर दुवै बुझेको तर नाम हटाएको यादवको गुनासो छ । जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले पनि जिल्लामा आएको सिफारिसमा यादवको नाम नरहेको पुष्टि गर्दै चौरसिया, अमात्य र मदन यादव गरी तीन जनाको मात्र नाम रहेको जानकारी दिएका थिए ।

क्षेत्रीय समितिले नाम सिफारिस नगरेपछि यादवले जिल्ला सभापति क्षेत्रीलाई आफ्नो नाम सिफारिस गर्न आग्रह गर्दै पुनः लिखित निवेदन बुझाए थिए । पार्टी विधानमा क्षेत्रीय सिफारिसमा छुटेका नामहरू जिल्ला कार्यसमितिले छलफल गरी प्रदेशमा सुझावसहित पठाउने व्यवस्था अनुरूप यादवले आफ्नो नाम सिफारिस गर्न जिल्ला सभापति क्षेत्रीलाई पुनः लिखित निवेदन दिए थिए । यद्यपि, सभापति क्षेत्रीले पनि यादवको नाम सिफारिस नगरेको पाइएको छ ।

जिल्लाको नेतृत्वले पनि धोका दिएपछि यादवले सामाजिक सञ्जालमा नेपाली काँग्रेस पर्साभित्र आम कार्यकर्ता माथि अन्याय भइरहेको उल्लेख गर्दै दुख व्यक्त गरेका छन् । “नेपाली काँग्रेस जिल्ला कार्यसमितिले पनि मेरो नाम प्रदेश कार्यसमितिका लागि सिफारिस गरेको छैन । जिल्ला सभापति, उपसभापति, दुवै सचिव, प्रवक्ता र सदस्यहरूलाई फोनमार्फत जानकारी गराउँदा समेत जिल्ला कार्यसमितिले आफ्नो निरीहपन प्रमाणित गरेकोप्रति खेद व्यक्त गर्दछु । आम काँग्रेसजन अगाडि हेर्दै जानुस् । जय नेपाल, उनले लेखेका छन् ।

यादवको नाम सिफारिस नहुने घटनाले नेपाली काँग्रेसभित्र पुस्तान्तरणको सङ्कट र पुराना नेताहरूको ‘डर’ लाई देशव्यापी बहसको विषय बनाएको छ । निर्वाचन नजिकिँदै गर्दा यस्ता विवादले पार्टीको एकता र छविमा असर पार्ने देखिएको छ ।

घटनाले क्षेत्रीय र जिल्ला नेतृत्व समेत युवा नेतालाई अगाडि बढ्न नदिने प्रवृत्तिमा लागेको काँग्रेसका युवा नेताहरूको भनाइ छ । विवाद भदौ २३–२४ गते भएको जेन–जी आन्दोलनपछि देशभर युवाहरू राजनीतिमा आउनुपर्ने माग उठिरहेको सन्दर्भमा आएको छ । यस्तो बेला नेपाली काँग्रेस पर्साले आफ्नै पार्टीका अगाडि बढ्न खोज्ने युवा नेतालाई निरुत्साहित गरेको स्पष्ट भएको छ ।

“तीन दशकदेखि चुनाव लडिरहेका पुराना नेताहरूमा नयाँ पुस्तालाई स्थान दिने सोच अझै पलाएको छैन । युवाहरूको उदयबाट उनीहरू डराएका छन्,” नाम नबताउने सर्तमा एक युवा नेताले भने, “यो घटनाले काँग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै गम्भीर प्रश्न उठेको छ । पुराना नेताहरूको डरले पार्टीको भविष्य जोखिममा परेको छ ।”

आफ्नै पार्टीका कार्यकर्तासँग धोका गर्नेले जनतासँग पनि धोका गर्छ भन्ने सन्देश जान सक्ने काँग्रेसका युवा वर्गको चिन्ता छ । पार्टीले निर्णय सच्याएर युवा, महिला, अल्पसङ्ख्यक र दलितलाई प्राथमिकता दिनुपर्ने जिल्लावासीको धारणा छ ।

Back to top