वीरगञ्ज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार सिफारिस प्रक्रियामा नेपाली काँग्रेस भित्र पुराना नेताहरूको ‘डर’ स्पष्ट रूपमा देखिएको छ ।
पूर्व मन्त्री अजय चौरसियाले युवा नेता राकेश यादवको बढ्दो लोकप्रियता र उदयबाट डराएका कारण उनको नाम क्षेत्रीय कार्यसमितिबाट जानाजानी हटाइएको आरोप लागेको छ । यसले पार्टीभित्र पुराना पुस्ताको डर र नयाँ पुस्तालाई रोक्ने प्रवृत्ति उजागर गरेको छ ।
गत मङ्सिर २२ गते आयोजित क्षेत्रीय भेलाले प्रत्यक्षतर्फका उम्मेदवारका लागि पूर्व मन्त्री अजय चौरसिया, संविधानसभा सदस्य राजेन्द्र बहादुर अमात्य, युवा नेता राकेश यादव र मदन यादव गरी चार जनाको नाम सिफारिस गरेको थियो ।
भेलाकै दिन क्षेत्रीय सभापति मोहम्मद शहाबुद्दीनले सञ्चारमाध्यमहरूसँग कुरा गर्दै चारै जनाको नाम सिफारिस भएको पुष्टि गरेका थिए । विभिन्न सञ्चारमाध्यममा पनि समाचार सार्वजनिक भएको थियो ।
तर, जिल्ला कार्यसमितिमा पठाइएको अन्तिम सिफारिस सूचीमा राकेश यादवको नाम हटाइएको छ । यादवले आफ्नो नाम हटाउने कार्य पूर्व मन्त्री चौरसियाको प्रत्यक्ष दबाबमा भएको आरोप लगाएका छन् ।
क्षेत्रीय सभापति शहाबुद्दीनले यादवसँगको व्यक्तिगत भेटमा “अजय चौरसियाज्यूको दबाबमा नाम काट्न बाध्य भएको” निरीह जवाफ दिएको यादवले खुलाएका छन् । यसले चौरसिया युवा नेताको प्रतिस्पर्धाबाट डराएको प्रस्ट भएको यादव पक्षको ठहर छ ।
युवा नेता यादवले मङ्सिर २३ गते नै पार्टी विधानअनुसार ११ हजार रुपैयाँ दस्तुरसहित लिखित निवेदन क्षेत्रीय सभापतिलाई बुझाएका थिए । निवेदन र दस्तुर दुवै बुझेको तर अहिले नाम हटाएको यादवको गुनासो छ । क्षेत्रीय सभापति शहाबुद्दीनले यादवको लिखित जवाफ माग्दा आवेदन नै नलिएको र मौखिक रूपमा दबाबको कुरा स्वीकार गरेको बताइएको छ ।
जिल्ला सभापति जनार्दन सिंह क्षेत्रीले पनि जिल्लामा आएको सिफारिसमा यादवको नाम नरहेको पुष्टि गरेका छन् । उनले चौरसिया, अमात्य र मदन यादव गरी तीन जनाको मात्र नाम सिफारिस भएको जानकारी दिए । यो घटनाले क्षेत्रीय सभापति र जिल्ला सभापति समेत युवा नेता अघि सर्दा डराएर नाम काट्न उद्यत भएको देखिएको काँग्रेसका युवा नेताहरूको भनाइ छ ।
विवाद जेन–जी आन्दोलनपछि देशभर नयाँ युवाहरू राजनीतिमा आउनुपर्ने माग उठिरहेको सन्दर्भमा आएको छ । यस्तो बेला नेपाली काँग्रेस पर्साले आफ्नै पार्टीका अगाडि बढ्न खोज्ने युवा नेतालाई निरुत्साहित गर्ने काम गरेको स्पष्ट भएको छ । आफूलाई लोकतान्त्रिक पार्टी दाबी गर्ने काँग्रेसका वरिष्ठ नेताहरूले यस्तो हरकत गर्दा सम्पूर्ण कांग्रेसजन लज्जित भएको एक युवा नेताले बताएका छन् ।
“तीन दशकदेखि आफैँ चुनाव लडिरहेका पुराना नेताहरूमा अझै नयाँ पुस्तालाई स्थान दिने सोच पलाएको छैन । युवाहरूको उदयबाट उनीहरू डराएका छन् । यो घटनाले काँग्रेसको लोकतान्त्रिक चरित्रमाथि नै गम्भीर प्रश्न उठेको छ । पुराना नेताहरूको यो डरले पार्टीको भविष्य नै जोखिममा परेको छ,” नाम नबताउने सर्तमा एक नेताले भने ।
यादवले सोमबार जिल्ला सभापति क्षेत्रीलाई पुनः लिखित निवेदन बुझाएका छन् । पार्टी विधानमा क्षेत्रीय सिफारिसमा छुटेका नामहरू जिल्ला कार्यसमितिले छलफल गरी प्रदेशमा सुझावसहित पठाउने व्यवस्था रहेको क्षेत्रीले बताएका छन् । तर, युवा नेताहरू यो प्रक्रियामा पनि पुराना नेताहरूको दबाब र डर हाबी हुनेमा शङ्का गर्दै छन् ।
घटनाले नेपाली काँग्रेसभित्र पुस्तान्तरणको सङ्कट र पुराना नेताहरूको ‘डर’ लाई देशव्यापी बहसको विषय बनाएको छ । फागुन २१ को निर्वाचन नजिकिँदै गर्दा यस्ता विवादले पार्टीको एकता र छविमा असर पार्ने देखिएको छ ।