×

वीरगञ्ज । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली काँग्रेस पर्साका चार वटै निर्वाचन क्षेत्रबाट आएको उम्मेदवार सिफारिस सूचीले पार्टीभित्र नयाँ पुस्ता र नयाँ अनुहारलाई ठाउँ दिने कुरा अझै भाषण, कागज र फेसबुक स्ट्याटसमा मात्र सीमित रहेको कुरालाई प्रमाणित गरेको छ ।

दशकौँदेखि सत्ता–अवसरको चक्रमा घुमिरहेका पुराना तथा दोहोरिएका नेताहरूले पर्सा काँग्रेसलाई कब्जा गरेर आफू अनुकूल चलाउँदा युवा नेतृत्वको उदय नै हुनै सकेको छैन । भदौ २३–२४ गतेको जेन–जी आन्दोलनले दिएको स्पष्ट जनादेशलाई समेत बेवास्ता गर्दै पर्सा काँग्रेसले फेरि पनि त्यही पुराना अनुहारलाई नै टिकटको पहिलो रोजाइ बनाएको छ ।

पर्सा–१ : अनिल रुङ्टाको एकल राज

नेपाली काँग्रेसको पर्सा निर्वाचन नम्बर १ को क्षेत्रीय कार्यसमितिले केन्द्रीय सदस्य अनिल रुङ्टाको नाम एकल सिफारिस गरेको छ । दोस्रो संविधानसभामा समानुपातिक सांसद बनेका र २०७४ मा यही क्षेत्रबाट प्रत्यक्ष लडेर पराजित भएका रुङ्टालाई फेरि “कुनै विकल्प नै छैन” भनेर अघि सारिएको छ ।

विवादित व्यवसायीको छवि बनाएका रुङ्टा अघिल्लो निर्वाचन नेपाली काँग्रेसको समानुपातिक सूचीमा परे पनि श्रीमती आरजु राणा देउवालाई सांसद बनाउन पार्टी सभापति शेर बहादुर देउवाले उनको बलिदान दिएका थिए । यस पटक पनि उनको विकल्प खोज्ने कुनै प्रयास भएको देखिँदैन ।

पर्सा–२ : राकेश यादवको एक्लो विद्रोह

चार क्षेत्रमध्ये एक्लो अपवाद पर्सा–२ हो । यस क्षेत्रबाट तीन जनाको नाम सिफारिस भएको छ । सिफारिस हुनेमा तिन दशकदेखि राजनीतिकमा सक्रिय र तिन पटक सांसद रहेका पूर्व कानुन मन्त्री अजयकुमार चौरसिया, संविधानसभा सदस्य राजेन्द्रबहादुर अमात्य र युवा नेता राकेश यादव रहेका छन् ।

यादव बाहेक चौरसिया र अमात्य दोहोरिँदै आएका अनुहारहरू हुन् । कक्षा ९ बाटै नेविसंघ मार्फत नेपाली काँग्रेससँग जोडिएका यादव ठाकुरराम क्याम्पसको स्ववियु सचिवदेखि नेविसंघ जिल्ला सभापतिसम्मको जिम्मेवारी सम्हालेका छन् । हाल उनी नेकपा तरुण दलको केन्द्रीय सदस्य छन् । क्षेत्रीय बैठकमा यादवले अडान लिएपछि उनको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गरिएको छ ।

यद्यपि, पार्टीको केन्द्रीय तहमा पुग्दा गुटगत राजनीति र पुराना नेताहरूको दबाबले उनको उम्मेदवारी कमजोर बन्ने देखिएको छ । तसर्थ, पर्सा काँग्रेसमा नयाँ पुस्ताको सङ्घर्षलाई थप चुनौतीपूर्ण बनाएको छ । चौरसिया काँग्रेसका पुराना हेभिवेट नेता हुन् भने सहिद तेजबहादुर अमात्यका छोरा राजेन्द्र अमात्य पनि काँग्रेस पर्साको सभापति रहिसकेका व्यक्ति हुन् । दोस्रो संविधानसभा सदस्य निर्वाचनमा विजयी अमात्यले २०७४ को निर्वाचनमा टिकेट पाएका थिएनन् ।

चौरसिया र अमात्यलाई क्षेत्रीय समितिले सिफारिस गरे पनि निवर्तमान सांसद भएको कारण चौरसियाको सम्भावना प्रबल देखिन्छ । काँग्रेस निकट स्रोतका अनुसार, केन्द्रीय कार्यसमितिमा पुग्दा यादवको नामलाई “युवा प्रतिनिधित्व” को नाममा समानुपातिक वा अन्य पदका लागि सिफारिस गर्ने र प्रत्यक्ष टिकट पुरानो अनुहारलाई नै दिने तयारी छ ।

पर्सा–३ : पुरानै अनुहारको भीड

नेपाली काँग्रेस पर्सामा सबैभन्दा धेरै पाँच जनाको नाम सिफारिस भएको क्षेत्र हो । पर्सा–३ बाट चार पटक सांसद र दुई पटक मन्त्री भइसकेका सुरेन्द्रप्रसाद चौधरीसहित अन्य चार जनाको नाम सिफारिस गरिएको छ । २०४८ देखि २०७९ सम्म प्रत्येक निर्वाचनमा काँग्रेसको उम्मेदवार बन्दै आएका चौधरी २०७९ को निर्वाचनमा नेकपा एमालेका राजकुमार गुप्तासँग पराजित भए पनि उनी अझै सत्तामा पुग्ने इच्छामा छन् । नयाँ र युवा पुस्ताको लागि स्थान त्यागेर राजनीतिक रूपमा संन्यास लिने उनको कुनै मुड नरहेको स्पष्ट हुन्छ । चौधरीको लामो अनुभव र केन्द्रीय तहसँगको सम्बन्धले क्षेत्रीय सिफारिसलाई केन्द्रमा प्रभावित पार्ने सम्भावना उच्च छ । उनी जस्ता पुराना नेताहरूले पार्टीको आधारभूत संरचनामा आफ्नो प्रभाव कायम राखेका राख्दा नयाँ अनुहारलाई उक्लनबाट रोकेको छ ।

यस क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस हुनेमा अर्का प्रभावशाली व्यक्ति हुन् नेपाली काँग्रेस पर्साका सभापति तथा मधेस प्रदेश सभा सदस्य जनार्दनसिंह क्षेत्री । मधेस प्रदेशको पूर्व मन्त्री समेत रहेका क्षेत्री पनि विगत तिन दशकदेखि नेपाली काँग्रेसको राजनीतिकमा सक्रिय छन् । नेविसंघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका उनी जिल्ला विकास समितिको सभापति रहिसकेका छन् । त्यस्तै २०७४ को निर्वाचनमा तत्कालीन सङ्घीय समाजवादी फोरम नेपालका प्रह्लाद गिरिसँग पराजित भएका उनी २०७९ मा सोही गिरीलाई पराजित गर्दै मधेस प्रदेशको कृषि मन्त्रीसमेत बनी सकेका छन् । उनी अझै पनि प्रदेशसभा सदस्य र जिल्ला अध्यक्ष छन् । तर, क्षेत्रीले पनि नयाँ अनुहारलाई अगाडि सार्नु भन्दा आफैलाई उम्मेदवारका रूपमा सिफारिस गर्न लगाएका छन् ।

पर्सा – ३ नेविसंघका पूर्व केन्द्रीय सदस्य शम्भु चौहान, किसान नेता असर्फी साह र भगवती चौधरीको नाम पनि सिफारिस भएको छ । तर मुख्य प्रतिस्पर्धा चौधरी र क्षेत्रीबिच नै हुने निश्चित छ । क्षेत्रीले प्रदेशसभा सदस्यबाट राजीनामा दिने मुड नदेखाएपछि चौधरीको बाटो लगभग खुला भएको स्थानीय नेताहरू बताउँछन् ।

पर्सा–४ : रमेश रिजालको निरन्तरता

पर्सा निर्वाचन क्षेत्र नम्बर ४ बाट पूर्व मन्त्री तथा केन्द्रीय सदस्य रमेश रिजालको नाम पनि एकल सिफारिस भएको छ । २०४८ सालदेखि २०७९ सम्मका सात वटै निर्वाचनमा काँग्रेसको तर्फबाट प्रत्यक्ष लडिसकेका रिजाल चार पटक सांसद र दुई पटक मन्त्री भइसकेका छन् । ६ दशकदेखि राजनीतिमा सक्रिय रिजाललाई युवाहरूले “राजनीतिक संन्यास लिनुपर्ने” भन्दै आए पनि क्षेत्रीय समितिले उनलाई नै निरन्तरता दिएको छ ।

रिजालको एकल सिफारिसले पर्सा–४ मा युवा वा नयाँ अनुहारको पूर्ण अनुपस्थितिलाई उजागर गरेको छ । काँग्रेस जस्तो ठूलो र पुरानो पार्टीले एउटा निर्वाचन क्षेत्रमा अन्य उम्मेदवार नै नभेट्नु दुखद रहेको युवाहरूको भनाइ छ । “युवालाई ठाउँ दिँदै राजनीतिक सक्रियता घटाउनुपर्नेमा ६ दशकदेखि सर्किया रहेका रिजाललाई अझै सांसद बन्ने इच्छा छ,” काँग्रेसका एक युवा कार्यकर्ताले भने । रिजाललाई काँग्रेसभित्रै नै “एकल राज चलाउने” आरोप लाग्ने गरेको छ । उनले आफ्नो क्षेत्रमा अन्य नेताहरूलाई स्थापित नै हुन् दिएका छैनन् ।

समानुपातिक र राष्ट्रिय सभामा पनि पुरानै अनुहार

समानुपातिकतर्फ पनि नयाँ अनुहारको खडेरी छ । क्षेत्र १ बाट राजकृष्ण अमात्य, ईश्वरभक्त श्रेष्ठ, कासिमा खातुन, बुनेल राम, किरण सरकार समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भएका छन् भने क्षेत्र २ बाट गम्भीरा साह, राजनाथ ठाकुर, विद्या श्रेष्ठ, रुपा श्रेष्ठ, जुनमाया बल भएका छन् । त्यस्तै क्षेत्र ३ बाट मुकेश कुर्मी, ध्रुव कुशवाहा, मनोज यादव  र क्षेत्र ४ बाट वृहस्पतिकृष्ण श्रेष्ठ र सुजाता देवीको नाम सिफारिस भएको छ ।

राष्ट्रिय सभातर्फ क्षेत्र १ बाट शम्भु हजरा दुसाध र श्याम पोख्रेल, क्षेत्र २ बाट सुखल हजरा, प्रेमचन्द्र दुबे, कन्हैयालाल बानिया र हिरा साह कानु, क्षेत्र ३ बाट ललन द्विवेदी र सिन्धु मेहता तथा क्षेत्र ४ बाट रमेश पाण्डेको एकल नाम सिफारिस भएको छ ।

जेन–जी आन्दोलनको सन्देशलाई बेवास्ता

भदौ २३–२४ गतेको जेन–जी आन्दोलनले देशव्यापी रूपमा पुरानो नेतृत्वलाई विस्थापित गर्दै पार्टीहरूले नयाँ सोच र जोसका साथ आउने व्यक्तिहरूलाई स्थान दिनुपर्छ भन्ने ठूलो सन्देश दिएको थियो । तर पर्सा काँग्रेसले त्यसको ठिक उल्टो बाटो लिएको छ ।

युवा नेताहरूका अनुसार नेपाली काँग्रेसको क्षेत्रीय भेलाहरूमा छलफलको नाटक मात्र हुन्छ । “निर्णय पहिल्यै भइसकेको हुन्छ, हामीले बोल्न पनि पाउँदैनौँ,” पर्सा–२ का एक युवा नेताले भने । उनले काँग्रेसमा लोकतान्त्रिक विधि, प्रक्रिया पालना कहिल्यै नहुने गरेको समेत गुनासो गरे ।

त्यस्तै पर्सा काँग्रेसको युवा र जेन–जी पुस्ता पूरै निराश बनेको छ । “काँग्रेसले हामीलाई विश्वास गरेन भने हामी विकल्प खोज्न बाध्य हुन्छौँ,” नेविसंघका एक नेताले भने, “राकेश यादवजस्तो स्पष्ट वक्ता र मेहनती युवालाई टिकट दिए काँग्रेसले इतिहास रच्न सक्छ ।

जिल्ला सभापति जनार्दनसिंह क्षेत्रीले मङ्सिर २५ भित्र सबै नाम मधेस प्रदेश समितिमा पठाउने बताएका छन् । काँग्रेस केन्द्रको मङ्सिर १५ को परिपत्रअनुसार प्रदेश समितिले मङ्सिर मसान्तभित्र केन्द्रमा सिफारिस पठाउनुपर्नेछ ।

तर पर्सा काँग्रेसको यो सिफारिस सूचीले पार्टीभित्र “नयाँ पुस्ता र नयाँ अनुहार” को नारा अझै भाषण र कागजमै सीमित रहेको स्पष्ट पारेको छ । अब केन्द्रले जेन–जी आन्दोलनको म्यान्डेटलाई सम्मान गर्दै पर्सामा साहसिक निर्णय गर्ला वा फेरि पुरानै अनुहारलाई टिकट थमाएर आफ्नै खुट्टामा बन्चरो हान्ला ? यो प्रश्नको जवाफ फागुन २१ को मत परिणामले दिनेछ । त्यतिन्जेल पर्सा काँग्रेसको युवा पुस्ता निराशा र विद्रोहको दोसाँधमा उभिएको छ ।

Back to top