अफगानिस्तानमा अनुमानित १५ लाख मानिसहरू गम्भीर अशक्तताका साथ बाँचिरहेको अफगानिस्तानमा सक्रिय संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) ले बुधबार बताएको छ। मुलुकमा व्याप्त दशकौंको द्वन्द्वका कारण यस्तो समस्याको सामना गर्न बाध्य भएको मिसनले जनाएको छ।
सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमा, युएनएएमएले निर्दोश बालबालिकाहरूले द्वन्द्वको कारण अशक्तताको सामना गर्नु परेको उजागर गरेको छ।
पछिल्लो समयमा अफगानिस्तान विश्वको सबैभन्दा बढी खानी–दूषित देशहरू मध्ये एक बनेको छ भने चार दशक भन्दा लामो द्वन्द्वका कारण बाँकी गोलाबारुद र बारुती सुरुङ्हरूले दैनिक ज्यान लिनुका साथै गम्भीर घाइते हुने गरेको मिसनले जनाएको छ।
पछिल्लो दुई हप्तामा मात्रै, दक्षिणी प्रान्त कान्दाहार र उरुजगनका साथै उत्तरी बाल्ख प्रान्तमा युद्धका विस्फोटक अवशेषहरूमा भएको विस्फोटमा सात जनाको मृत्यु भएको छ भने अन्य नौ जना घाइते भएका छन्।
अफगानिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको प्रतिवेदनले देशको लगभग एक हजार १५० वर्ग किलोमिटर क्षेत्र बारुती सुरुङ् र युद्धका अन्य विस्फोटक अवशेषहरूले दूषित रहेको जनाएको छ।