×

रौतहट । सात राजनीतिक दलको संयुक्त नेतृत्वमा रौतहट सदरमुकाम गौरमा बिहीबार मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको असंवैधानिक नियुक्तिको खारेज माग गर्दै विरोध प्रदर्शन गरिएको छ।

लोसर पार्टीका मधेस प्रदेश सचिव ओम लोक पटेलका अनुसार, सात दलिय गठबन्धनका नेता तथा कार्यकर्ताहरूले निबर्तमान प्रदेश प्रमुख सुमित्रा भण्डारीद्वारा संविधानको धारा १६८(३) को गलत प्रयोग गरी एमाले संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्री नियुक्त गरिएको भन्दै विरोध जनाएका हुन्। प्रदर्शनकर्ताहरूले शपथग्रहण मध्यराति होटेलमा गराइएको भन्दै मुख्यमन्त्रीको पद खारेजीको माग गरेका थिए।

प्रदर्शनमा सहभागीहरूले “असंबैधानिक मुख्य मन्त्री राजीनामा दे” र “एमाले पार्टी मुर्दाबाद” जस्ता नारा लगाएका थिए।

कार्यक्रममा नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति सुनिल यादव, लोसपा उपाध्यक्ष बाबुलाल साह, सहमहामन्त्री अनिल सिंह, मधेस प्रदेश सचिव ओम लोक पटेल, नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य रेवन्त झा, नेकपा माओवादी केन्द्रका गौर नगर अध्यक्ष चन्देश्वर राउत, नेपाली कांग्रेस क्षेत्रीय अध्यक्ष श्री राम यादव, गौर नगर अध्यक्ष मोहन यादव, जनमत पार्टीका रौतहट जिल्ला इन्चार्ज शेख जमसैद, जसपा नेता तथा पूर्व राज्यमन्त्री योगेन्द्र यादव, किरण ठाकुर लगायतका नेता तथा कार्यकर्ताहरूको बाक्लो सहभागिता रहेको थियो।

सात दलको यो विरोध प्रदर्शनले मधेस प्रदेशमा हालै उत्पन्न राजनीतिक विवादप्रति जनताको असन्तोष र संवैधानिक प्रक्रिया पालनको मागलाई उजागर गरेको छ।

Back to top