×

वीरगञ्ज । नेपालसँग जोडिएको भारतीय राज्य बिहारको दोस्रो चरणको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमावर्ती नाका वीरगञ्ज–रक्सौल पूर्ण रूपमा बन्द गरिएपछि हजारौँ नेपाली र भारतीय यात्रु अलपत्र परेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्साले सूचना जारी गर्न ढिलाइ गरेका कारण यात्रुहरूले ठूलो सास्ती भोग्नुपरेको छ भने स्थानीय प्रशासनको लापरबाहीप्रति व्यापक आक्रोश व्यक्त भएको छ ।

नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (बीडीसीसी) को असोज २९ गतेको बैठकको समझदारीअनुसार सीमा बन्द गरिएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले शनिवार जारी गरेको सूचनामा कार्तिक २२ गतेदेखि २५ गते साँझ ६ बजेसम्म अत्यावश्यकबाहेक आवतजावतमा रोक लगाइएको उल्लेख छ । निर्वाचनको दिन कार्तिक २५ गते साँझ ६ बजेसम्म नाका पूर्ण रूपमा सिल रहने निर्णय भएको सूचनामा उल्लेख छ ।

बिहारको पूर्वी चम्पारण जिल्लाअन्तर्गत रक्सौल, अरेराज, सिकटा, मोतिहारीलगायत क्षेत्रमा कार्तिक २५ गते दोस्रो चरणको निर्वाचन हुँदै छ । सुरक्षाको दृष्टिकोणले बिहार सरकारले ७२ घण्टा अगावै सीमा सिल गर्न आग्रह गरेको थियो । सुरुमा ४८ घण्टा अगाडि सिल गर्ने भनिए पनि शुक्रवार राति अचानक ७२ घण्टाको सूचना आएपछि आज बिहान ६ बजेदेखि नै नाका बन्द गरिएको सहायक सिडिओ कार्कीले बताए । दुवै देशका सुरक्षा निकायले संयुक्त रूपमा निगरानी बढाएका छन् ।

यद्यपि, प्रशासनले सूचना जारी गर्नुभन्दा करिब ६ घण्टा अगाडि आज बिहान ६ बजेदेखि नै नाका सिल गरेका कारण सूचनाको अभावमा यात्रुहरू समस्यामा परेका छन् । औषधी उपचार, अध्ययन, दैनिक उपभोग्य सामग्री खरिद, पारिवारिक कार्यक्रम र धार्मिक भ्रमणका लागि नेपाल–भारत आवतजावत गर्न लागेका यात्रुहरू निराश भएर फर्किन बाध्य भएका छन् ।

सशस्त्र प्रहरीले कडाइ गरेपछि आवश्यक कागजात भएका भारतीय नागरिकलाई पैदल मात्र सीमा पार गर्न अनुमति दिइएको छ भने नेपाली यात्रु पूर्ण रोकिएका छन् । सवारीसाधन चल्न दिइएको छैन । यात्रुहरू भन्सार क्षेत्रदेखि मितेरी पुल कटेर रक्सौलसम्म पैदल हिँड्न बाध्य छन् । बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूलाई सबैभन्दा बढी समस्या भएको छ ।

मधेस प्रदेशका रौतहट र धनुषा जिल्ला प्रशासनले शुक्रवार नै कार्तिक २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म नाका बन्द हुने सूचना जारी गरेका थिए । तर, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले ४८ घण्टा अगाडि सिल गर्ने योजना रहेको बताए पनि अचानक परिवर्तन हुँदा यात्रु अलपत्र परेका हुन् ।

यात्रुहरूले प्रशासनको लापरबाहीप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । काभ्रेको बेथानचोक नगरपालिकाबाट परिवारसहित भारत भ्रमणका लागि आएका बद्री प्रसाद तिम्सिनाले नाका बन्द हुँदा निराश भएर घर फर्किनुपरेको बताए । वीरगञ्जका रविशंकर रौनियार गर्भवती श्रीमतीको उपचारका लागि रक्सौलको डङ्कन अस्पताल जाँदै थिए । उनले सूचना नहुँदा उपचारमा ढिलाइ भएको र समयमै जानकारी पाए वैकल्पिक व्यवस्था गर्ने बताए । रौतहटको गौर नगरपालिकाकी सोनम पटेल अध्ययनका लागि भारत जाँदै थिइन् । वीरगञ्जमा कोही नहुँदा घर फर्किन बाध्य भएकी उनले प्रशासनको लापरबाहीले हजारौँ यात्रुलाई दुःख भएको भन्दै आक्रोश पोखिन् ।

सीमामा खटिएका सुरक्षाकर्मीले कडाइ गरे पनि यात्रुहरूको समस्याप्रति संवेदनशील नभएको यात्रुहरूको आरोप छ । प्रशासनले समयमै सूचना प्रचार नगरेका कारण यस्तो अवस्था आएको स्थानीयहरू बताउँछन् ।

Back to top