×

नेपालसँग टाँसिएको सीमावर्ती भारतीय राज्य बिहारमा दोस्रो चरणको विधान सभा निर्वाचनका कारण वीरगञ्ज–रक्सौल नाका बिना पूर्व सूचना सिल गरिँदा हजारौँ नेपाली र भारतीय यात्रु सीमामै अलपत्र परेका छन् ।

जिल्ला प्रशासन कार्यालय पर्सा र अन्य सरोकारवाला निकायले कुनै जानकारी नै नदिई आज बिहानदेखि बोर्डर पूर्ण रूपमा बन्द गरेपछि औषधी उपचार, अध्ययन, दैनिक उपभोग्य सामग्री खरिद, पारिवारिक कार्यक्रम र धार्मिक भ्रमणलगायतको कार्यका लागि नेपालबाट भारत र भारतबाट नेपाल आवतजावत गर्न लागेका यात्रुहरू निराश भएर फर्किन बाध्य भएका छन् ।

बिहारको पूर्वी चम्पारण जिल्लाअन्तर्गत रक्सौल, अरेराज, सिकटा, मोतिहारीलगायतका क्षेत्रमा कात्तिक २५ गते दोस्रो चरणको निर्वाचन हुँदै छ । सोही निर्वाचनलाई लक्षित गर्दै सुरक्षाको दृष्टिकोणले बिहार सरकारले ७२ घण्टा अगावै सीमा सिल गर्न आग्रह गरेको हो ।

सुरुमा बिहार सरकारले ४८ घण्टा अगाडि बोर्डर सिल गर्ने आग्रह गरेपनि शुक्रवार राती अचानक ७२ घण्टा अगाडि सिल गर्नुपर्ने सूचना पठाएपछि सोही अनुसार पर्सा प्रशासनले आज बिहानदेखि वीरगञ्ज–रक्सौल नाका बन्द गर्नुपरेको बताएको छ । तर, बोर्डर बन्द हुने भन्ने सूचनाको अभावमा यात्रुहरूले ठूलो सास्ती भोगेका छन् । स्थानीय प्रशासनका अनुसार कार्तिक २५ गते साँझसम्म बोर्डर पूर्ण रूपमा सिल गरिएको छ ।

सशस्त्र प्रहरीले सीमामा कडाइ गरेपछि आवश्यक कागजात भएका भारतीय नागरिकलाई पैदल मात्र सीमा पार गर्न अनुमति दिइएको छ भने नेपाली यात्रुहरू पूर्ण रूपमा रोकिएका छन् । त्यस्तै सवारीसाधन पनि चल्न दिइएको छैन । यात्रुहरू वीरगञ्जको भन्सार क्षेत्रदेखि मितेरी पुल कटेर रक्सौलसम्म पैदल जान बाध्य छन् । त्यस्तै भारतबाट नेपाल आउन लागेका यात्रुहरूलाई पनि सोही समस्या छ । बोर्डर अचानक बन्द भएपछि बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिहरूलाई सबैभन्दा धेरै समस्या भएको छ ।

मधेस प्रदेश कै रौतहट र धनुषाको जिल्ला प्रशासनले भने शुक्रवार सूचना जारी गर्दै कात्तिक २२ गते साँझ ६ बजेदेखि २५ गते साँझ ६ बजेसम्म नेपाल–भारत सीमा नाका बन्द हुने जानकारी गराएका थिए । तर, पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले ४८ घण्टा पूर्व बोर्डर सिल गर्ने आग्रह आएको कारण सोही अनुसार गरिने बताए पनि आज बिहानदेखि अचानक बोर्डर सिल हुँदा यात्रुहरू अलपत्र परेका हुन् ।

काभ्रेको बेथानचोक नगरपालिकाबाट परिवारसहित पहिलो पटक भारत भ्रमणका लागि आएका बद्री प्रसाद तिम्सिनाले बोर्डर सिल हुँदा निराश भएर घर फर्किनुपरेको बताए । त्यस्तै वीरगञ्जका रविशंकर रौनियार गर्भवती श्रीमतीको उपचारका लागि रक्सौलको डङ्कन अस्पताल जाँदै थिए । सूचना नहुँदा उपचारमा ढिलाइ भएको र समयमै जानकारी दिएको भए वैकल्पिक व्यवस्था गर्ने थिए भन्ने उनको गुनासो छ । त्यस्तै, रौतहटको गौर नगरपालिकाकी सोनम पटेल अध्ययनका लागि भारत जाँदै थिइन् । वीरगञ्जमा कोही नहुँदा घर फर्किन बाध्य भएकी उनले प्रशासनको लापरबाहीले आफूसहित हजारौँ यात्रुलाई दुःख भएको भन्दै आक्रोश व्यक्त गरिन् ।

यात्रुहरूले समयमै सूचना जारी नगरेकोमा स्थानीय प्रशासनप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन् । सीमामा खटिएका सुरक्षाकर्मीले कडाइ गरे पनि यात्रुहरूको समस्याप्रति संवेदनशील नभएको उनीहरूको आरोप छ ।

Back to top