×

वीरगञ्ज । नेकपा (माओवादी केन्द्र) ले नेकपा (एकीकृत समाजवादी) सहित आठ वटा वामपन्थी पार्टीहरूसँग एकता गर्ने निर्णय गरेपछि पार्टीभित्र नै असन्तुष्टिका स्वरहरू चर्किएका छन् ।

मधेस प्रदेशसभा सदस्य, पूर्व मन्त्री तथा माओवादी केन्द्रका नेता रहबर अन्सारीले सामाजिक सञ्जालमार्फत एकताप्रति कडा असन्तुष्टि व्यक्त गर्दै ‘आत्म शुद्धि र चरित्रको छानबिन’ बिना एकता ‘नैतिकतासँगको धोका’ मात्र हुने बताएका छन् । एकताले पार्टीको वैचारिक आधारलाई कमजोर बनाउने र भ्रष्ट तथा चरित्रहीन तत्त्वहरूलाई संरक्षण गर्ने खतरा रहेको उनको भनाइ छ ।

अन्सारीले फेसबुकमा लेखेका छन्, “एकताको ढोल बजाइन्छ, उत्सवको भाषण सुनिन्छ । तर, पार्टीभित्र चरित्रहीनको जमात छ, र तिनै बलात्कारी र भ्रष्टाचारीलाई संरक्षण गर्ने तह-तहमा नेतृत्वकर्ता छन् । यस्ता प्रवृत्तिले आन्दोलन जोगिँदैन, सपना सड्छन् । क्रान्ति बिक्छ र आदर्श बन्धक बन्छ ।” उनले एकताबाट पूर्वाधारित अन्याय र भ्रष्टाचारका घटनाहरू लुक्ने भन्दै ‘घरभित्र दुर्गन्ध छोपेर बाहिर पुष्पवर्षा देखाइन्छ’ भनेर व्यङ्ग्य गरेका छन् ।

अन्सारीको धारणाले एकताको तयारीमा रहेका दुवै पार्टीका असन्तुष्ट नेताहरूलाई थप बल पुर्‍याउने आकलन गरिएको छ भने मधेस प्रदेशमा माओवादीका कार्यकर्ताहरूमाझ असन्तुष्टि थप फैलाउने सम्भावना छ ।

‘पहिले आत्म शुद्धि, चरित्रको छानबिन र दण्ड-संस्कृति’ को जोड दिँदै ‘मुखौटा होइन, शुद्ध नियत र कडा अनुशासन चाहिन्छ’ भन्दै अन्सारीले एकताको उत्सवभन्दा आन्तरिक सुधारको आवश्यकतालाई औँल्याएका छन् ।

एकताको निर्णय कात्तिक १९ गते काठमाडौँको भृकुटीमण्डपमा घोषणा गर्ने तयारी छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबिच भएको १८ बुँदे सहमतिपछि प्रक्रिया तीव्र भएको हो ।

सहमतिमा माओवादी केन्द्र, एकीकृत समाजवादी, महेन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी, सुवासराज काफ्ले नेतृत्वको जनसमाजवादी पार्टी लगायतका साना वामपन्थी दलहरू सामेल छन् । प्रचण्डले एकतालाई ‘जेनजी विद्रोहपछिको राजनीतिक परिस्थितिमा आवश्यक ध्रुवीकरण' को रूपमा वर्णन गरेका छन् । तर, एकताले दुवै प्रमुख दललाई विभाजनको सङ्घारमा पुर्‍याएको छ ।

माओवादी केन्द्रभित्र एकताप्रति कडा विरोध देखिएको छ । कात्तिक १६ गते बसेको महाधिवेशन आयोजक समितिको सचिवालय बैठकमा नेता जनार्दन शर्माले एकताविरुद्ध लिखित प्रस्ताव पेस गर्दै ‘यो वैचारिक आत्मसमर्पण हो’ भनेर चेतावनी दिएका थिए । शर्माले माओवादलाई छोडेर बहुदलीय जनवादतर्फ झर्ने गरी एकता हुन लागेको भन्दै ‘हतारोमा गरिने एकता दीर्घकालीन रूपमा हानिकारक’ हुने तर्क गरे । बैठक छोडेर बाहिरिएका शर्माको कदमलाई अध्यक्ष प्रचण्डले ‘अराजक र अलोकतान्त्रिक’ भनेका थिए । शर्मा पक्षका नेताहरूले पुनर्गठनको तयारीमा जुटेको स्रोतहरूले जनाएको छ ।

वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पनि एकतामा ‘हतार नगर्न’ आग्रह गर्दै ‘समग्र कम्युनिस्ट आन्दोलनको वैचारिक र सांस्कृतिक रूपान्तरण आवश्यक छ’ भनेका छन् । विभाजित पार्टीहरू समष्टि रूपमा एकता हुनुपर्ने भए पनि हतारले सार्थक पुनर्गठन नहुने श्रेष्ठको तर्क छ ।

यता, एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूले पनि माओवादीसँगको एकतालाई ‘एमाले फुटाएर बनाएको पार्टीको विसर्जन’ भनेर आलोचना गरेका छन् । झालनाथ खनाल, रामकुमारी झाँक्री, घनश्याम भुसाल, किसान श्रेष्ठ जस्ता एकीकृत समाजवादीका दर्जनौँ नेताहरिहरूले  एकतामा सामेल नहुने बताएका छन् । केहीले पार्टी पुनर्गठनको तयारी थालेका छन् भने केही पुरानो घर नेकपा एमाले मै फर्किने भएका छन् ।

राजनीतिक विश्लेषकहरूले एकताले कम्युनिस्ट आन्दोलनमा नयाँ ध्रुवीकरण निम्त्याउन सक्ने अनुमान गरे पनि असन्तुष्ट नेताहरूको पुनर्गठन प्रयासले थप विभाजन निम्त्याउने खतरा पनि बढेको छ । घटनाक्रमले नेपाली कम्युनिस्ट राजनीतिमा वैचारिक बहसलाई तताएको छ । एकताको घोषणा नजिकिँदै गर्दा असन्तुष्ट आवाजहरूले प्रक्रियालाई जटिल बनाउने देखिएको छ ।

Back to top