×

वीरगञ्ज । छठ पर्वको दोस्रो दिन आइतबार साँझ व्रतालुहरूले खरना विधि सम्पन्न गर्दै निर्जला व्रतको सुरुवात गरेका छन् ।

स्थानीय भोजपुरी भाषामा “रसियाव रोटी” भनेर चिनिने यस विधिमा व्रतालुहरूले दिनभरको उपवासपछि साँझ दूध, चामल र सख्खरबाट बनेको खिर (रसियाव), रोटी, केरा, फलफूल र मिठाइसहित छठी मातालाई पूजा गरी परिवारका सदस्य र छरछिमेकलाई प्रसाद वितरण गरेका छन् । प्रसाद घरपरिवार र छिमेकीहरूसँग बाँडेर सामाजिक एकताको सन्देश प्रवाह गरिएको छ ।

छठ पर्व कात्तिक शुक्ल चौथी तिथिबाट सुरु भई चार दिनसम्म मनाइन्छ । पहिलो दिन शनिवार व्रतालुहरूले नहाय-खाय विधिमार्फत नदी, पोखरी वा पवित्र जलाशयमा स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेर शारीरिक र मानसिक शुद्धता हासिल गरेका थिए ।

दोस्रो दिनको खरना विधिमा कठोर उपवासपछि साँझको पूजामा छठी मातालाई प्रसाद अर्पण गरिएको हो । पर्वको तेस्रो र चौथो दिन अर्थात् कात्तिक शुक्ल षष्ठी र सप्तमी तिथिमा क्रमशः अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरिनेछ । सोमबार साँझ मुख्य दिनमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने मङ्गलवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्वको समापन हुनेछ ।

छठ पर्व सूर्यको उपासना र जीवनदायिनी शक्तिमा विश्वासको प्रतीक मानिन्छ । जनविश्वास अनुसार छठ पूजा गर्दै कष्ट, पाप र अन्धकार हटाई सुख-समृद्धि प्राप्त हुन्छ ।

छठको तयारी गोवर्धन पूजा र बजडी पर्वसँगै बिहीबारबाटै सुरु भएको थियो । गहुँ धोएर सुकाइएको पिठोबाट ठेकुवा, पुडुकीया जस्ता परम्परागत प्रसाद बनाउने चलन छ । ग्रामीण क्षेत्रमा माटोको चुल्हो र ढेकी-जाँतोको प्रयोग जीवन्त रहे पनि सहरी क्षेत्रमा ग्याँस चुल्हो र बजारको पिठोको प्रयोग बढ्दो छ ।

छठ पर्वले धार्मिक आस्थासँगै सामाजिक एकता र प्रकृतिप्रतिको सम्मानलाई जोड दिन्छ । जलाशयको सरसफाइ र घाट निर्माणले पर्यावरण संरक्षणको सन्देश प्रवाह गर्छ । वीरगञ्जको घडिअर्वा पोखरी, सिर्सिया नदी, मुर्ली पोखरी र नगवा पोखरी जस्ता छठ घाटहरूलाई झिलिमिली बत्ती र रङ्गीचङ्गी सजावटले आकर्षक बनाइएको छ ।

महाभारत र सूर्य पुराणमा उल्लेखित छठ पर्व सन्तानको दीर्घायु, परिवारको समृद्धि र स्वास्थ्यका लागि विशेष मानिन्छ  नेपालमा २०४६ देखि राष्ट्रिय स्वरूप पाएको छठ पर्व मधेससँगै काठमाडौँ, पोखरा र धरानमा समेत लोकप्रिय बन्दै छ । मधेसी, पहाडी मूल र इस्लाम धर्मावलम्बीहरूले समेत मनाउन थालेपछि छठ साझा पर्व बनेको छ । यद्यपि, आधुनिकताले परम्परागत चुल्हो र ढेकीको प्रयोगमा कमी ल्याएको छ । जलाशयको प्रदूषण र घाट व्यवस्थापनको कमजोरीले पर्वको पवित्रतामा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ । तथापि, छठ पर्वले धार्मिक आस्था, सामाजिक एकता र सांस्कृतिक धरोहरको संरक्षणमा महत्त्वपूर्ण योगदान दिइरहेको छ ।

वीरगञ्जमा छठको रौनकले उत्साहको वातावरण सिर्जना गरेको छ । व्रतालुहरू कठोर आस्थासहित सूर्यको उपासना र सामाजिक सद्भावको सन्देश फैलाउन तत्पर छन् ।

Back to top