वीरगञ्ज । हिन्दु धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै गर्दा वीरगञ्जको रानीघाटस्थित छठ घाटमा पूजाको तयारी तीव्र गतिमा अघि बढेको छ । रानीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रञ्जन सिंह राजपूतका अनुसार, यस वर्ष घाटलाई विगतका वर्षहरूभन्दा धेरै आकर्षक र भव्य बनाउन सम्पूर्ण तयारी लगभग सम्पन्न भएको छ ।
रानीघाट छठ पूजा व्यवस्थापन समितिले घाटलाई झिलिमिली बत्ती, रङ्गीचङ्गी फूलहरू, र भव्य पण्डालले सजाउने कार्य अन्तिम चरणमा पुर्याएको छ । अध्यक्ष राजपूतले रानीघाट, श्रीपुर, रामगढवा, र घडिअर्वाबाट आउने श्रद्धालुहरूको स्वागतका लागि चार वटा स्वागत द्वार निर्माण गरिएको जानकारी दिए ।
मुख्य घाटमा भव्य पण्डाल तयार गरिएको छ भने व्रतालुहरूको सुविधाका लागि सरसफाइमा विशेष ध्यान दिइएको छ । “हामीले यस वर्ष घाटलाई अझै आकर्षक बनाउन हर सम्भव प्रयास गरेका छौँ । सजावट र व्यवस्थापनका कामहरू लगभग सकिएका छन्,” राजपूतले भने ।
घाट सजावट, साउन्ड सिस्टम, र अन्य व्यवस्थापनका लागि करिब १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । खर्च जुटाउन स्थानीय छठ व्रतालु, उद्योगी, व्यवसायी, र परोपकारी व्यक्तिहरूबाट चन्दा सङ्कलन गरिएको छ । साथै, स्थानीय सरकारले पनि केही आर्थिक सहयोग गरेको राजपूतले बताए ।
खर्च व्यवस्थापनका लागि ऐच्छिक चिट्ठा प्रणाली पनि लागू गरिएको उनले जानकारी दिए । चिट्ठाअन्तर्गत प्रति चिट्ठा २०० रुपैयाँमा इच्छुक व्यक्तिहरूले सहयोग गर्न सक्नेछन् । चिट्ठा किन्नेहरूलाई गोला प्रथामार्फत स्कुटर, टिभी, फ्रिज, वासिङ मेसिन, मिक्सर, राइस कुकर, र साउन्ड सिस्टमजस्ता आकर्षक उपहारहरू प्रदान गरिने व्यवस्था छ ।
गत वर्ष करिब १३ लाख रुपैयाँ खर्च भएको र भव्य सजावटका कारण कुनै बचत नभएको जानकारी दिँदै राजपूतले यस वर्ष केही रकम जोगाउने प्रयास गरिने बताए ।
सझिया घाटको दिन व्रतालु र श्रद्धालुहरूको मनोरञ्जनका लागि सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमले पर्वको रौनकलाई थप जीवन्त बनाउने अपेक्षा गरिएको छ ।
रानीघाट छठ घाटमा रानीघाट, श्रीपुर, रामगढवा, र घडिअर्वाबाट गरी दुई हजार भन्दा बढी व्रतालुले छठ मनाउने अनुमान छ । साथै, घाट अवलोकन र दर्शनका लागि डेढदेखि दुई लाख श्रद्धालु आउने अपेक्षा गरिएको छ । विगत आठ दशकदेखि रानीघाटमा छठ पूजा हुँदै आएको राजपूतको भनाइ छ ।
घाटमा श्रद्धालु र व्रतालुहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै समितिले तीनै तहका सुरक्षा निकायहरूसँग समन्वय गरी दुई सय भन्दा बढी सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ । घाट क्षेत्रमा चोरी, झैँ-झगडा, र अन्य अप्रिय घटना रोक्न सादा पोसाकमा पनि प्रहरी खटाइनुका साथै समितिले पनि आफ्ना स्वयंसेवकहरूलाई खटाउने छ । साथै, निगरानीका लागि विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको छ । “हामीले भक्तजनको सुरक्षालाई पहिलो प्राथमिकता दिएका छौँ। कुनै पनि अवाञ्छित घटना हुन नदिन कडा सुरक्षा व्यवस्था अपनाइएको छ,” राजपूतले भने ।
रानीघाट छठ घाटको धार्मिक महत्त्व भए पनि नदी प्रदूषणले व्रतालुहरूलाई असुविधा भएको छ । अध्यक्ष राजपूतका अनुसार, पछिल्ला चार दशकदेखि उद्योगहरूले केमिकल र लेदोसहितको प्रदूषित पानी नदीमा मिसाउँदा पानी कालो र दुर्गन्धित भएको छ । प्रदूषणले व्रतालुहरूलाई नदीमा प्रवेश गरी अर्घ्य दिन समस्या भएको छ । “स्थानीय सरकार र सम्बन्धित निकायले नदी प्रदूषणमुक्त गर्न ध्यान नदिँदा यो समस्या कायमै छ,” उनले गुनासो गरे ।
रानीघाटसँगै वीरगञ्जको घडिअर्वा, नगवा, मुर्ली लगायतका नदी र पोखरीहरूमा सजावटको कामले तीव्रता पाएको छ । अघिल्ला वर्षहरू भन्दा आकर्षक र भव्य बनाउने उद्देश्यका साथ घाटहरू सजाउने तयारी भइरहेको छठ पूजा समितिहरूले जनाएका छन् ।