×

प्रदूषणको चपेटमा परेको वीरगञ्जस्थित सिर्सिया नदीको रानीघाट छठ घाटबाट देखिएको दृश्य । तस्बिर : राजु बैठा ।

वीरगञ्ज । नेपालीहरूको प्रमुख पर्व छठ नजिकिँदै गर्दा वीरगञ्जस्थित सिर्सिया नदीको प्रदूषणले हजारौँ व्रतालु र श्रद्धालुहरूलाई दूषित पानीमा प्रवेश गरेर पूजा गर्नुपर्ने बाध्यता देखिएको छ । उद्योगजन्य फोहोरका कारण नदीको पानी कालो र दुर्गन्धित बन्दा छठ पर्वको धार्मिक र सांस्कृतिक महत्त्वमाथि नै प्रश्नचिह्न खडा गरेको छ ।

स्थानीय बासिन्दा र छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष रञ्जन सिंह राजपूतका अनुसार, सिर्सिया नदीको सफाइ र प्रदूषण नियन्त्रणका लागि वीरगञ्ज महानगरपालिका र स्थानीय प्रशासनले कुनै प्रभावकारी कदम चालेका छैनन् । “वर्षभरि नदी सफाइको कुरा प्राथमिकतामा पर्दैन, छठ पर्व नजिकिएपछि मात्र गोष्ठी र बैठक हुन्छन्, तर नतिजा शून्य छ,” उनले गुनासो गरे ।

सिर्सिया नदीको प्रदूषणले पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाका रामवन, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैया, साथै बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाउँ, बेहरा र बलुवाका बासिन्दा प्रभावित छन् ।

त्यस्तै सीमावर्ती भारतीय सहर रक्सौललगायतका स्थानीय पनि प्रदूषित पानी मै छठ पर्व मनाउन बाध्य रहेका छन् । प्रभावित क्षेत्रका बासिन्दाले नदी किनारमा छठ घाट बनाएर पूजा गर्दै आए पनि प्रदूषित पानीले पूजा गर्न कठिनाइ भएको छ ।

सिर्सिया नदीको प्रदूषणको मुख्य कारण बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित छाला, कपडा, फलाम, साबुन, घिउ र मदिरा उद्योगहरूबाट निस्कने रसायनयुक्त फोहोर पानी र खरानी भएको डेढ दशकअघिको सिर्सिया नदी अनुगमन समितिको प्रतिवेदनले औँल्याएको थियो ।

वीरगञ्ज महानगरपालिकाले पटक–पटक अनुगमन गरी उद्योगहरूलाई सचेत गराए पनि बाराको परवानीपुर र जीतपुरसिमरा उपमहानगरपालिकाका उद्योगहरूले खुलेआम नदीलाई प्रदूषित गरिरहेको गुनासो छ । केही उद्योगले वाटर ट्रीटमेन्ट प्लान्ट सञ्चालन गरे पनि अधिकांशले अनुगमनको समयमा मात्र पानी प्रशोधन गर्ने र अन्य समयमा सोझै प्रदूषित पानी नदीमा फाल्ने गरेको स्थानीयको आरोप छ ।

महानगरपालिकाले सिर्सिया नदीको दीर्घकालीन संरक्षण र प्रदूषण नियन्त्रणका लागि विभिन्न छलफल र अनुगमन गरेको दाबी गरे पनि ठोस नतिजा नआएको स्थानीयको भनाइ छ । गत असोज २८ गते महानगरले आयोजना गरेको सरोकारवालाहरूसँगको छलफलमा पर्सा र बाराका प्रमुख जिल्ला अधिकारी, वीरगञ्ज र जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख, उद्योग वाणिज्य सङ्घका प्रतिनिधि र विज्ञहरूले सहभागिता जनाएका थिए। छलफलमा उद्योगीहरूले ट्रीटमेन्ट प्लान्ट सञ्चालन नगरी फोहोर नदीमा फाल्ने प्रवृत्तिलाई मुख्य समस्या ठहर गरिएको थियो । महानगरका मेयर राजेशमान सिंहले बाराका स्थानीय तहहरूको असहयोगका कारण नदी सफाइमा कठिनाइ भएको आरोप लगाए पनि स्थानीय प्रशासन र उद्योगीहरूले नदी सफाइको जिम्मेवारीप्रति एक अर्कालाई दोषारोपण गरेका थिए।

चार दशकदेखि अत्यधिक प्रदूषित बनेको सिर्सिया नदीको पानी अहिले कालो र दुर्गन्धित छ । पानी मानव, चौपाया र सिँचाइका लागि समेत अयोग्य छ । धार्मिक कार्य र दाहसंस्कारका लागि पनि नदीको पानी प्रयोग गर्न कठिन भएको छ । सिमराको रामवनबाट निस्कने नदी तीन किलोमिटरको दूरीमा नै प्रदूषित बन्न थाल्छ र वीरगञ्ज पुग्दा पूर्ण रूपमा कालो हुन्छ ।

स्थानीय बासिन्दा र जनप्रतिनिधिहरूले नदी प्रदूषण गर्ने उद्योगहरूलाई कडा कारबाही गर्न र दीर्घकालीन सफाइ योजना लागू गर्न माग गरेका छन् । “छठ पर्वको लागि नदी सफा गर्न पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ भएको छैन,” रानीघाट छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष राजपूतले भने ।

यस वर्षको छठ पर्वलाई मध्यनजर गर्दै सिर्सिया नदीको प्रदूषण नियन्त्रणका लागि तत्काल कदम चाल्न स्थानीयले माग गरेका छन् । अन्यथा, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको यो पर्व दूषित पानीमा मनाउनुपर्ने बाध्यता कायम रहने देखिन्छ ।

Back to top