वीरगञ्ज । वीरगञ्जस्थित हरि खेतान बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुख किशोरी राय यादवको गैरजिम्मेवार रवैया, बदमासी र मनोमानी व्यवहारका कारण शैक्षिक गतिविधि पूर्ण रूपमा ठप्प भएको भन्दै शिक्षक र कर्मचारीहरूले बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।
शिक्षक र कर्मचारीले क्याम्पस प्रमुखको राजीनामा माग्दै आफ्ना मागहरू पूरा नभएसम्म पठनपाठन र प्रशासनिक काममा सहभागी नहुने कठोर अडान लिएका छन् ।
विवादले क्याम्पसमा अध्ययनरत कक्षा ११, १२, स्नातक, स्नातकोत्तर र सम्बन्धित स्कूलमा माध्यमिक तहका हजारौँ विद्यार्थीको भविष्य जोखिममा परेको छ । क्याम्पस प्रमुख, व्यवस्थापन समिति र शिक्षक–कर्मचारीबिचको विवादले शैक्षिक वातावरण जटिल बन्दै जाँदा विद्यार्थी र अभिभावकमा गहिरो चिन्ता उत्पन्न गरेको छ ।
बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा क्याम्पसका प्राध्यापक दिलीप प्रजापतिले क्याम्पस प्रमुख किशोरी राय यादवको बदनियत पूर्ण व्यवहार र गैरजिम्मेवार रवैयाले शैक्षिक वातावरण ध्वस्त भएको र विद्यार्थीको भविष्य सङ्कटमा परेको बताए ।
“हामीले २०८१ सालदेखि नै तलब–सुविधा र व्यवस्थापन सुधारका लागि ८ बुँदे माग राख्दै आएका छौँ । गत असोज ३ गते हामीले क्याम्पस प्रमुखलाई असोज २० गतेसम्म माग पूरा गर्न अन्तिम अल्टिमेटम दिएका थियौँ, तर कुनै सुनुवाइ भएन,” प्रजापतिले स्पष्ट पारे ।
शिक्षक र कर्मचारीहरूले त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार तलब, तलबमा एकरूपता, तहगत ग्रेडिङ र बढुवा प्रणाली, नयाँ शिक्षकलाई लेक्चरर र पुरानालाई सहायक बनाइएको त्रुटि सच्याउन, एक पद एक तलब सिद्धान्त लागू गर्न, प्याकेज र ओभर टाइमलाई तलबमा रूपान्तरण गर्ने, हरेक महिनाको ५ गतेभित्र तलब वितरण गर्ने र हरि खेतान स्कूलका शिक्षकलाई माध्यमिक तह सरह तलब दिनुपर्ने माग गरेका छन् । “माग पूरा नभएसम्म हामी कक्षामा फर्किंदैनौं,” प्रजापतिले अडान दोहोर्याए ।
यसअघि कर्मचारी युनियनका अध्यक्ष विनोद यादवले पनि क्याम्पस प्रमुखमाथि गम्भीर आरोपहरू लगाएका थिए । उनले क्याम्पस प्रमुखले शिक्षक–कर्मचारीलाई धम्की दिने गरेको, पूर्व–पश्चिम र नाता–कुटुम्बको आधारमा कृत्रिम विभाजन ल्याउने गरेको, व्यक्तिगत स्वार्थका लागि क्याम्पस बन्द गर्ने गरेको, बैठकहरूमा हक–हितको बेवास्ता गर्दै विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने काम गरेको जस्तो आरोपहरू लगाएका थिए । विनोद यादवले क्याम्पस प्रमुखको योग्यतामाथि प्रश्न गर्दै उनीमा विद्यार्थी–शिक्षक–कर्मचारीको हितमा सोच्ने क्षमता समेत नभएको लगाएका थिए ।
विवादको पृष्ठभूमि
हरि खेतान बहुमुखी क्याम्पसमा विवादको जरो २०८१ सालदेखि शिक्षक र कर्मचारीले राखेका ८ बुँदे मागबाट सुरु भएको हो । त्रिभुवन विश्वविद्यालयको मापदण्डअनुसार तलब–सुविधा, नियमित तलब वितरण, ग्रेडिङ र बढुवा प्रणालीलगायतका माग क्याम्पस प्रशासनले बेवास्ता गर्दा असन्तुष्टि चुलिएको थियो । गत भदौ १ देखि तलब भत्ताको माग गर्दै शिक्षक र कर्मचारी आन्दोलनमा उत्रिएपछि क्याम्पसको पठनपाठन पूर्ण रूपमा अवरुद्ध भएको छ ।
असोज ३ गते शिक्षक र कर्मचारीले क्याम्पस प्रमुखलाई असोज २० गतेसम्म माग पूरा गर्न अन्तिम अल्टिमेटम दिएका थिए । माग पूरा नभएपछि मङ्गलवारदेखि शिक्षक र कर्मचारीले क्याम्पस प्रमुखको कार्यकक्ष र प्रशासनिक फाँटमा तालाबन्दी गरेर अनिश्चितकालीन आन्दोलन सुरु गरेका छन् । तालाबन्दीका कारण क्याम्पसको शैक्षिक गतिविधि थप जटिल बनेको छ ।
शिक्षक र कर्मचारीहरूले तालाबन्दी गरेपछि क्याम्पस प्रमुख किशोरी राय यादवले एउटा सूचना जारी गर्दै असोज २३ गते शुक्रवारसम्मका लागि पठनपाठन स्थगित गरेका थिए ।
पठनपाठन अवरुद्ध भएपछि त्यसको भोलीपल्ट बुधवार बिहान कक्षा ११, १२ र स्नातक तहका विद्यार्थीहरूले क्याम्पसको मूल गेटमा धर्ना सुरु गरेका थिए । विद्यार्थीहरूले क्याम्पस प्रशासन, शिक्षक–कर्मचारी र व्यवस्थापन समितिबिचको विवादले नियमित कक्षा सञ्चालन नभएको भन्दै आक्रोश व्यक्त गर्दै सडक मै किताब र कापी लिएर पढ्दै साङ्केतिक विरोध रूपमा विरोध गरेका थिए ।
धारमामा सहभागी विद्यार्थीहरूले साउन महिनायता नियमित कक्षा सञ्चालन नभएको बताउँदै वार्षिक शैक्षिक क्यालेन्डर बनाएर नियमित कक्षा चलाउनुपर्छ माग गरेका थिए । उनीहरूले परीक्षा नजिकिँदासमेत कक्षा सञ्चालन नहुँदा आफूहरू पठनपाठनमा गम्भीर असर परेको बताउँदै प्रशासनिक विवादका कारण आफूहरूको भविष्यसँग खेलबाड नगर्न आग्रह गरेका थिए । उनीहरूले क्याम्पसको खातामा करोडौँ रकम हुँदासमेत बस सुविधा र शैक्षिक सुधारमा खर्च नभएको आरोप समेत लगाएका थिए ।
पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) तोयनारायण सुवेदीले बुधवार धर्ना स्थलमै पुगेर विद्यार्थीसँग संवाद गर्दै क्याम्पस प्रशासन, व्यवस्थापन समिति र शिक्षक–कर्मचारीसँग नियमित छलफल भइरहेको र दुई दिनभित्र विवाद समाधान गरी आइतबारदेखि नियमित कक्षा सञ्चालन हुने आश्वासन दिएपछि विद्यार्थीहरू धर्ना स्थगित गर्दै घर फर्किएका थिए ।
आज (बिहीबार) क्याम्पस प्रमुख यादवले एक सूचना जारी गर्दै भोली शुक्रवारदेखि पठनपाठन नियमित रूपमा सुचारु हुने जानकारी गराएका छन् । यद्यपि, शिक्षक र कर्मचारीले क्याम्पस प्रमुखको सूचनालाई अस्वीकार गर्दै आफूहरूको माग पूरा नभएसम्म कक्षामा नफर्किने र पठनपाठनमा सहभागी नहुने बताएका छन् । उनीहरूले माग पूरा नभएसम्म तालाबन्दी र आन्दोलन जारी राख्ने अडान लिएका छन् ।
स्थानीय प्रशासनले क्याम्पस प्रशासन, व्यवस्थापन समिति र शिक्षक–कर्मचारीबिच मध्यस्थता गरिरहेको छ । तर, शिक्षक–कर्मचारीको अडान र क्याम्पस प्रमुखको असहयोगको आरोपले तत्काल समाधानको सम्भावना कमजोर देखिन्छ ।
व्यवस्थापन समितिको असहयोगले समस्या भयो : क्याम्पस प्रमुख
क्याम्पस प्रमुख यादवले भने व्यवस्थापन समितिको असहयोगले समस्या निम्तिएको दाबी गरेका छन् । “मैले नियुक्त भएदेखि आर्थिक–प्रशासनिक नियमावली बनाउन आग्रह गरेको छु, तर व्यवस्थापन समितिले सहयोग गरेन । उनीहरू नियम विपरीत काम गर्न खोज्छन्,” उनले भने ।
शिक्षक र कर्मचारीहरूको माग सम्बोधन गर्न आफूले व्यवस्थापन समितिसँग पटक–पटक आग्रह गर्दा पनि बेवास्ता गरिएको उनको आरोप छ । उनले उल्टै व्यवस्थापन समितिले नियम विपरीत अवकाशप्राप्त व्यक्तिलाई हरि खेतान स्कुलको उपप्रधानाध्यापक नियुक्त गर्नेदेखि अन्य गैरकानुनी कामहरू गरेको आरोप बताए ।
“मैले व्यवस्थापन समितिले अह्राएको अनैतिक काममा साथ नदिएपछि ममाथि अदालतको आदेश अवहेलना गरेको मुद्दा हालिएको छ,” उनले भने । उनले व्यवस्थापन समितिका अध्यक्ष र जिम्मेवार सदस्यहरूसँग पटक–पटक सम्पर्क गर्न खोज्दा पनि फोन नउठ्ने गरेको र उठाए पनि समस्याको सुनुवाइ नहुने गरेको गुनासो गरे । यादवले व्यवस्थापन समितिको नियत नै ठिक नभएको समेत आरोप लगाए ।
यादवका अनुसार व्यवस्थापन समितिले बैठकबिना कर्मचारीको तलब २५ प्रतिशत वृद्धि गरेको घोषणा गरे पनि पछि २० प्रतिशत मात्र दिने भनेको गुनासो छ । “यस्तो अवस्थामा कर्मचारीलाई कसरी जवाफ दिने?” उनले प्रश्न गरे । आफूमाथिका सबै आरोप निराधार रहेको भन्दै यादवले हिसाबको पारदर्शिता र कुनै पक्षपात नगरेको दाबी गरे । “कसैलाई शङ्का छ भने एक–एक रुपैयाँको हिसाब दिन तयार छु । ममाथि लगाइएका आरोपहरू प्रमाणित गर्न चुनौती दिन्छु,” उनले भने ।
त्यस्तै क्याम्पस प्रमुख यादवले शिक्षक र कर्मचारीहरूले दिएको अन्तिम अल्टिमेटमको अवधिमा दसैँ बिदा परेको र क्याम्पस असोज २१ गतेदेखि मात्र सञ्चालनमा आएकाले व्यवस्थापन समितिसँग छलफल गर्न नसकिएको दाबी गरेका छन् । “अल्टिमेटमको अन्तिम दिनसम्म सार्वजनिक बिदा थियो । शिक्षकहरूसँग छलफल गरेर विवाद समाधान गर्न सकिएन,” उनले भने ।
यादवले आफू क्याम्पसमा अनुपस्थित भएको बेला शिक्षक र कर्मचारीहरूले धोकाले आफ्नो कार्यकक्ष र अन्य प्रशासनिक कोठाहरूमा तालाबन्दी गरेको समेत आरोप लगाए । “क्याम्पस खुलेपछि म त्यस्ता कर्मचारीहरूसँग स्पष्टीकरण सोध्छु,” उनले भने ।
पर्सा, बारा, रौतहट लगायत मध्य तराईका हजारौँ विद्यार्थी पढ्ने हरि खेतान बहुमुखी क्याम्पस वीरगञ्जको प्रमुख शैक्षिक संस्थामध्ये एक हो । तर, विवादले शैक्षिक गतिविधि ठप्प हुँदा विद्यार्थी र अभिभावकमा गहिरो चिन्ता बढेको छ । परीक्षा नजिकिँदै गर्दा कक्षा सञ्चालन नहुँदा विद्यार्थीहरू तनावमा छन् । “हाम्रो भविष्यसँग खेलबाड भइरहेको छ । कक्षा नहुँदा हामीले पढाइमा ठूलो नोक्सान बेहोरिरहेका छौँ,” विद्यार्थी रिया कर्णले गुनासो गरिन् । क्याम्पस प्रशासन, व्यवस्थापन समिति र शिक्षक–कर्मचारीबिचको सहमति नहुँदासम्म पठनपाठन सुचारु हुने सम्भावना न्यून छ ।