रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आज युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्दै छन्।
ह्वाईट हाउसमा हुने छलफलका लागि जेलेन्स्की युरोपेली नेताहरुसहित वासिंटन डिसी जान लागेका हुन्। रुस–युक्रेन युद्ध अन्त्यको प्रयासस्वरुप ट्रम्पले यी नेताहरुसँगको छलफललाई तीव्रता दिएका हुन। ट्रम्पले तीन दिनअघि रुसी राष्ट्रपति पुटिनसँग अलास्कामा ३ घण्टा लामो वार्ता गरेका थिए।
तर, उक्त वार्ता निष्कर्षविहीन बनेको थियो। ट्रम्पले पहिले नै युद्ध अन्त्यका लागि युक्रेनले केही भू-भाग साट्नुपर्ने बताएका थिए। आजको बैठकमा बेलायतका प्रधानमन्त्री कीर स्टार्मर, जर्मन चान्सलर फ्रेडरिक मत्र्ज, फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रों, इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनी र नाटो महासचिव मार्क रुटे पनि सहभागी हुँदैछन्।
जेलेन्स्की तत्काल रुसी आक्रमण रोकिनु पर्ने र हत्याको सिलसिला अन्त्य हुनुपर्ने अडानमा छन्। अमेरिकाले रुसलाई युद्ध अन्त्यका लागि तयार हुन आग्रह गर्दै युक्रेन नाटोमा संलग्न नहुने आश्वासन दिएको छ। तर, जेलेन्स्की यो विषयमा पनि सन्तुष्ट छैनन्। अमेरिकी अधिकारीहरुले जेलेन्स्कीसँगको छलफल उपलब्धिमुलक हुने दाबी गरेका छन्।