×

इजरायली आक्रमणमा गाजापट्टीमा अल जजिराका अनस अल–शरीफसहित पाँच पत्रकार मारिएका छन्। अल–शिफा अस्पतालको मुख्य गेटबाहिर रहेका पत्रकारहरूको टेन्टमा गरिएको हमलामा उनीहरु मारिएका हुन्। 

मृतकमा अल जजिराका संवाददाता मुहम्मद करेइख, क्यामेरा अपरेटर इब्राहीम जाहेर, मुहम्मद नुफल र मोआमेन अलीवा समावेश छन्। इजरायली आक्रमणमा ज्यान गुमाएका २८ वर्षीय अल–शरीफले गाजाको पूर्व र दक्षिणी भागमा इजरायली बमबारीको बारेमा अन्तिम ट्वीट गरेका थिए। अलजजिराका अनुसार उनको अन्तिम भिडियोमा इजरायली आक्रमणको आवाज सुनिन्छ र आकाशमा प्रकाश फैलिएको देखिन्छ। इजरायली सैनिकले भने अल–शिफास्थित पत्रकारहरुको टेन्टमा भएको आक्रमणलाई हमास विरुद्धको आक्रमण भन्दै जिम्मा लिएको छ। 

करिब दुई हप्ताअघि एक इजरायली सैनिक अधिकारीले अनस अल–शरीफले पत्रकारको आवरणमा हमासका लागि काम गरेको प्रमाण भेटिएको आरोप लगाउँदै एक भिडियो सार्वजनिक गरेका थिए। उनले शरीफले थप उक्साउने काम गरेको आरोप लगाएका थिए। अल जजिरा मिडिया नेटवर्क र पत्रकार सुरक्षा संगठनहरूले यो घटनामा गम्भीर चिन्ता व्यक्त गर्दै पत्रकारहरूको सुरक्षा सुनिश्चित गर्न अपील गरेका छन्। 

अल जजिराका प्रबन्ध सम्पादक मोहम्मद मोआवादले अल शरीफ गाजाभित्रको समाचार दिने संसारको एक मात्र आवाज रहेको भन्दै दुःख व्यक्त गरेका छन्। गाजामा इजयरायली आक्रमणमा हालसम्मा २०० भन्दा बढी पत्रकारको मृत्यु भइसकेको छ 

Back to top