×

इजरायली आक्रमण जारी रहेको गाजामा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको छ। गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार कुपोषणका कारण हालसम्म मृत्यु हुनेको संख्या २१२ जना पुगेको छ। तीमध्ये ९८ जना बालबालिका छन्। 

इजरायली सैन्य कारबाहीका कारण पछिल्लो २४ घण्टामा कम्तीमा ३८ जनाको मृत्यु र ४ सय ९१ जना घाइते भएको मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । यसैबीच, इजरायलले गाजा पूर्ण नियन्त्रणमा लिने नयाँ योजना सार्वजनिक गरेपछि विवाद उत्पन्न भएको छ। इजरायली सुरक्षा मन्त्रिपरिषदले अनुमोदन गरेको यो योजनाअनुसार गाजाका करिब १० लाख बासिन्दालाई दक्षिणतर्फ सारिनेछ। 

मानवअधिकार समूहसहित विभिन्न देशले इजरायलको उक्त योजनाको विरोध गरेका छन्। उनीहरूले गाजामा अझै ठूलो मानवीय संकट निम्त्याउने चेतावनी दिएका छन्। संयुक्त राष्ट्रसंघले गाजामा खाद्य संकट चरम अवस्थामा पुगेको जनाएको छ। पछिल्लो २४ घण्टामा खाद्यान्न लिने लाइनमा रहेका मात्रै कम्तीमा २१ जनाको मृत्यु भएको छ । इजरायलले आगामी ७ अक्टोबरपछि गाजालाई पूर्ण नियन्त्रणमा लिने योजनासहित कारबाही गर्ने तयारी गरेको छ।

गाजामा हालसम्म झण्डै ६२ हजार मानिस मारिएका छन् ।

 

Back to top