वीरगञ्ज। वीरगञ्जस्थित नरायणी अस्पतालमा नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा फिजियोथेरापी डाक्टरको रूपमा कार्यरत ओमप्रकाश साहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया सुरु गरेको स्रोतले जनाएको छ।
प्राप्त जानकारीअनुसार, डा. साहले पेश गरेको बिहारको सीतामढीस्थित दीनदयाल उपाध्याय स्मृति डीडीएम कलेजबाट २००३ मा लिएको भनिएको प्रमाणपत्र नक्कली भएको आरोपमा उजुरी दर्ता भएको थियो।
उक्त उजुरीपछि करिब दुई महिना अघि अख्तियारले नरायणी अस्पताल प्रशासनमार्फत डा. साहको सक्कल प्रमाणपत्र माग गरेको थियो। तर अस्पताल प्रशासनको मिलोमतोमा प्रमाणपत्र बुझाउने प्रक्रिया ढिलाइ भएको स्रोतको दाबी छ।
पुनः ताकेता गरेपछि अन्ततः डा. साह स्वयं अख्तियार कार्यालयमा हाजिर भएको जानकारी प्राप्त भएको छ। अख्तियार स्रोतका अनुसार, उनले पेश गरेको शैक्षिक योग्यताको प्रमाणीकरणप्रति गम्भीर आशंका उठेकाले सो विषयमा विस्तृत अनुसन्धान थालिएको हो।
यदि प्रमाणपत्र नक्कली भएको पुष्टि भएमा, सरकारी दस्तावेजमा गलत विवरण दिएको र गैरकानुनी रूपमा सरकारी सेवा लिएको अभियोगमा डा. साहमाथि कारबाही अघि बढ्ने अख्तियारले जनाएको छ।
यस विषयमा नरायणी अस्पताल प्रशासनले भने औपचारिक प्रतिक्रिया दिन अस्वीकार गरेको छ।