वीरगञ्ज । भारतको जम्मु–कश्मीरमा करोडौं रुपैयाँ ठगी गरेको आरोपमा फरार रहेका अमरजीत सिंह दत्ता हाल वीरगञ्जमा बसोबास गरिरहेका छन्। उनले विभिन्न नामबाट कम्पनी खोली सयौं सर्वसाधारणलाई "पाँच वर्षभित्र रकम दोब्बर हुने" झुटा आश्वासन दिँदै ठूलो मात्रामा रकम ठगी गरेको आरोप लागेको छ।
अमरजीत सिंहले दत्ता फाइनान्स, दत्ता ट्रेडिंग कर्पोरेशन, भन्ना फाइनान्स इंडिया लिमिटेड, दत्ता फाइनान्स एण्ड ट्रेडर्स, तथा दत्ता वाइन कम्पनीजस्ता संस्थामार्फत जम्मु, सम्बा, पुँछ, बरामुल्ला, श्रीनगर लगायत क्षेत्रका नागरिकलाई ठगी गरेको भारतीय अनुसन्धान निकायले जनाएको छ।
उनका पिता गुरुबचन सिंह दत्ता, र भाइ हरपाल सिंह दत्तासहित मिलेर यो आर्थिक अपराध गरिएको हो। हरपाल सिंह अहिले अमेरिका, टेक्सासको हस्टन शहरमा पेट्रोल पम्प सञ्चालन गर्दै बसोबास गरिरहेका छन्। अमरजीत सिंह दत्ताले भने झुटा कागजात प्रस्तुत गर्दै नेपाली नागरिकता प्राप्त गरेका छन्, र वीरगञ्जस्थित भारतीय वाणिज्य दूतावासमार्फत भारतीय नागरिकको हैसियत कायम राख्दै नेपालमा खुलेआम बसिरहेका छन्।
भारतको प्रवर्तन निर्देशनालय (Enforcement Directorate - ED) ले यो प्रकरणमा धनशोधन निवारण अधिनियम (Prevention of Money Laundering Act - PMLA) अन्तर्गत अनुसन्धान अघि बढाएको छ। भारतका विभिन्न अदालतहरूमा दर्ता गरिएको मुद्दामा अमरजीत सिंह दत्ता र उनका परिवारका सदस्यहरूलाई कारबाहीको दायरामा ल्याउन प्रक्रिया अघि बढाइएको बुझिएको छ।
सूत्रका अनुसार, भारतबाट नेपाल भागेका अमरजीत सिंह दत्ताले वीरगञ्जमा झुटा कागजातमार्फत बसोबास गरिरहेका छन्। यसैबीच उनका पिता गुरुबचन सिंह दत्ताको मृत्यु हुँदा दुवै छोराहरू अन्तिम संस्कारमा समेत सहभागी नभएको जनाइएको छ।
यस घटनाले अन्तर्राष्ट्रिय सीमापार ठगी, नागरिकता दुरुपयोग र धनशोधन जस्ता संवेदनशील विषयमा नेपाली तथा भारतीय निकायहरूबीच समन्वय र कडाइ आवश्यक रहेको सन्देश दिएको छ।