×

पाकिस्तानको दक्षिणपश्चिमी प्रान्त बलुचिस्तानमा आइतबार एक पृथकतावादी समूहले जेल भ्यानमा आक्रमण गरी पाँचजना प्रहरीलाई अपहरण गरेको दाबी गरेको छ ।

शुक्रबार राति ३० देखि ४० जना सशस्त्र व्यक्तिहरूले बलुचिस्तान प्रान्त पार गर्ने एउटा मुख्य राजमार्ग अवरुद्ध गरी प्रहरीको निगरानीमा रहेको जेल भ्यानलाई रोक्का पारेको प्रहरी अधिकारीले जानकारी दिए ।

‘कैदीहरूलाई पछि छोडिएको थियो, तर पाँच जना प्रहरी अपहरणमा परेका छन्,’ एक उच्च प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा एएफपीलाई बताए ।

उनका अनुसार अपहरणमा परेका प्रहरीको उद्धारका लागि अभियान जारी छ ।

उक्त समूहले त्यस क्षेत्रमा रहेका केही सरकारी भवन र एक बैङ्कमा समेत आगजनी गरेको जनाइएको छ ।

एक सरकारी अधिकारीले जानकारी दिएअनुसार सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा दुई आक्रमणकारी मारिएका छन् ।

पाकिस्तान विगत केही दशकदेखि बलुचिस्तानमा पृथकतावादी विद्रोहको सामना गरिरहेको छ, जहाँ राज्य सुरक्षा बल, विदेशी नागरिक तथा गैर–स्थानीय नागरिकहरू आक्रमणको निशानामा पर्छन् ।

उक्त क्षेत्रको सबैभन्दा सक्रिय समूह बलुच लिबरेशन आर्मी (बीएलए)ले कलात जिल्लामा भएको आक्रमणको जिम्मा लिएको छ।

बीएलएले विगतमा विदेशी लगानीमा निर्माण भइरहेका ऊर्जा परियोजना, विशेषगरी चीनद्वारा समर्थित योजनाहरूलाई लक्षित गर्दै आएको छ ।

यस वर्ष मार्चमा सोही समूहले एक रेल नियन्त्रणमा लिई सयौं यात्रुहरूलाई बन्धक बनाएको थियो र त्यहाँ तैनाथ सुरक्षाकर्मीहरूमाथि आक्रमण गरेको थियो ।

Back to top