वीरगञ्ज । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जम्मु कश्मिरमा आतङ्कवादी आक्रमणपछि आफ्नो साउदी अरबको राजकीय भ्रमण छोट्ट्याएका छन् । उनी बुधवार राति नै भारत फर्किनेछन् ।
प्रधानमन्त्री मोदीले घटनाको गहिरो निन्दा गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले दोषीहरूलाई कारबाहीको दायरामा ल्याउने र आतङ्कवादविरुद्ध सरकारको अडान अझ कडा हुने स्पष्ट सन्देश दिएका छन् ।
घटनापछि भारतका केन्द्रीय गृहमन्त्री अमित शाहले सुरक्षा स्थिति मूल्याङ्कन गर्न श्रीनगर पुगेका छन् ।
जम्मु कश्मिरस्थित पहलगामको पर्यटक स्थल बैसरानमा मङ्गलवार आतङ्ककारीले पर्यटक, स्थानीय बासिन्दा र व्यावसायिक गतिविधिमा संलग्न नागरिकमाथि अन्धाधुन्ध गोली प्रहार गरेका थिए ।
घटनामा कम्तीमा २८ जनाले ज्यान गुमाएका छन्, जसमा २२ जना भारतीय पर्यटक, दुई जना स्थानीय नागरिक र दुई जना विदेशी नागरिक (एक नेपाली र एक युएईका नागरिक) छन् । ३६ जना घाइते भएका छन् ।
आतङ्कवादी हमलाको जिम्मेवारी लश्कर-ए-तैयबा नामक पाकिस्तानस्थित आतङ्कवादी समूहको छाया सङ्गठन ‘द रेसिस्टेन्स फ्रन्ट’ ले लिएको छ ।