×

सिरियामा जातीय हिंसाका घटना पुनः वृद्धि भएको छ। सोमबार तटीय र केन्द्रीय क्षेत्रहरूमा भएका छुट्टाछुट्टै घटनामा १२ नागरिकको ज्यान गएको छ। सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मृतकमध्ये अधिकांश अलावाइट समुदायका हुन्।

सिरियाको सुरक्षा अवस्था अझै पनि जटिल छ। विशेष गरी इस्लामवादी नेतृत्वको बलहरूले करिब १४ वर्ष लामो गृहयुद्धपछि राष्ट्रपति बशर अल–असदको शासनलाई गत डिसेम्बरमा अन्त्य गरेपछि विभिन्न समुदायबीच तनाव कायमै छ।

अनुगमन संस्थाका अनुसार तटीय टार्टस प्रान्तमा भएको एउटा आक्रमणमा स्थानीय अधिकारीसहित ६ जना नागरिकको ज्यान गएको छ। स्रोतहरूका अनुसार आक्रमणकारी बानियास नजिकै रहेको नयाँ सरकार-समर्थित सैन्य अखडाबाट आएका थिए। प्रत्यक्षदर्शीले आक्रमणकारीले जातीय आधारमा धम्कीपूर्ण नारा लगाउँदै गोली प्रहार गरेको बताएका छन्।

अलावाइट समुदायका धेरै नागरिक बशर अल-असदको शासनकालमा भएको हिंसाका कारण प्रतिशोधको डर महसुस गरिरहेका छन्। यो महिनाको प्रारम्भमा पनि सिरियामा सबैभन्दा गम्भीर जातीय हिंसा देखिएको थियो, जसमा विशेष रूपमा तटीय क्षेत्रहरूमा ठूलो सङ्ख्यामा नागरिकहरू मारिएका थिए।

केन्द्रीय शहर होम्समा अर्को दुःखद घटना घटेको छ। दुई सशस्त्र व्यक्तिले एक घरमा आक्रमण गरी त्यहाँ रहेका निर्दोष नागरिकमाथि गोली प्रहार गरेका छन्। घटनामा एक महिला र उनका तीन सन्तान मारिएका छन्। त्यहाँ उपस्थित दुई जना सुन्नी मुस्लिम नागरिकको पनि घटनास्थलमै दुःखद निधन भएको छ।

अनुगमन संस्थाका अनुसार आक्रमणकारीमध्ये एक जना सिरियाको नयाँ सुरक्षाबलसँग आबद्ध व्यक्ति थिए। घटनापछि सुरक्षा निकायहरूले अनुसन्धान अघि बढाएका छन्।

यस घटनामा सिरियाली आधिकारिक सञ्चारमाध्यमले तत्काल प्रतिक्रिया दिएका छैनन्।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार मार्च ६ देखि शुरु भएको जातीय हिंसामा हालसम्म करिब एक हजार ७०० भन्दा बढी नागरिकको ज्यान गएको छ। यसमा ठूलो सङ्ख्यामा अलावाइट समुदायका रहेका छन्।

सिरियाली अधिकारीहरूले हिंसाका लागि बशर अल–असदका समर्थक सशस्त्र समूहहरूलाई जिम्मेवार ठहर्याएका छन्। नयाँ सरकारको सुरक्षा बलहरूलाई लक्षित गरी भएको आक्रमणपछि सैन्य बल परिचालन गरिएको थियो।

Back to top