×

म्यानमाको जुन्ताले दुर्गम गाउँको एक मेडिकल क्लिनिकमा गरेको हवाई आक्रमणमा एक चिकित्सक र उनकी पत्नीसहित ११ जनाको मृत्यु भएको स्थानीयवासीले बताएका छन्।

सन् २०२१ को सैन्य कू ले म्यानमालाई जुन्ता, कू-विरोधी गुरिल्लाहरू र जातीय सशस्त्र समूहहरूबीच घातक गतिरोधमा फसेको यस दक्षिण पूर्वी एसियाली देशमा विभाजित गृहयुद्धमा धकेलेको छ।

स्थानीयवासीहरूले शनिबार बिहानको हवाई आक्रमण पश्चिमी मागवे क्षेत्रको हनान खार गाउँमा भएको बताएका छन्। यो क्षेत्र हाल कू–विरोधी बलको नियन्त्रणमा छ।

म्यानमाको सैन्य प्रवक्तासँग टिप्पणीका लागि सम्पर्क हुन सकेन।

‘यो धेरै तल उड्यो र हामी लुकेको बेला मैले ठूलो बम विस्फोट सुनेँ’, एक गाउँलेले भने, ‘जब म त्यो क्षेत्र सफा गर्न गएँ, मैले मानव शरीरका टुक्राहरू मात्र देखेँ, यो देख्दा भयानक लाग्यो र मेरो मन अझै पनि त्यो दृश्यबाट स्पष्ट छैन।’

प्रत्यक्षदर्शी र स्थानीय क्षेत्रका अर्का व्यक्तिले घरमा खोलिएको अस्थायी क्लिनिकमा विस्फोट हुँदा मारिएका ११ जना मध्ये एक चिकित्सक र उनकी श्रीमती रहेको बताए।

‘सैन्य बलले हालैका महिनाहरूमा बारम्बार हवाई आक्रमण गरिरहेको छ र सबै नागरिकहरू धेरै डराएका छन्’, सोमबार नाम नखुलाई बोल्ने स्थानीय बासिन्दाले भने, ‘उनीहरू सधैँ सैन्य लडाकू विमानहरूको आवाज सुनिरहेका छन् र लुक्न तयार भइरहेका छन्।’

म्यानमाको सेनाले कडा क्षेत्रीय क्षति बेहोरेको भए पनि विश्लेषकले रूसी प्राविधिक सहयोगमा आकाशमा राखिएको यसको शक्तिशाली वायु सेना आफ्ना विरोधीहरूलाई टाढा राख्न महत्वपूर्ण रहेको बताएका छन्।

गैर–नाफामूलक संस्था आर्म्ड कन्फ्लिक्ट लोकेसन एन्ड इभेन्ट डाटा (एसीएलईडी) का अनुसार गृहयुद्धका क्रममा नागरिकहरूमाथि सैन्य हवाई आक्रमणको सङ्ख्या वर्षैपिच्छे बढेको छ र सन् २०२४ मा यो सङ्ख्या करिव ८०० पुगेको छ।

Back to top