×

पाकिस्तानमा फेब्रुअरी २०२५ मा  आतंककारी हमलाहरू केही मात्रामा वृद्धि भए पनि नागरिक मृत्यु संख्यामा तीव्र वृद्धि भएको एक अध्ययनले देखाएको छ। इस्लामाबादस्थित थिंक ट्यांक पाकिस्तान इन्स्टिट्युट फर कन्फ्लिक्ट एण्ड सेक्युरिटी स्टडिज (पिआइसिएसएस) ले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार, फेब्रुअरी महिनामा ७९ आतंककारी हमलाहरू भए, जसमा ५५ नागरिक र ४७ सुरक्षाकर्मीको मृत्यु भएको छ। साथै, ८१ सुरक्षाकर्मी र ४५ नागरिक घाइते भएका छन्।

पिआइसिएसएसका अनुसार, अगस्ट २०२४ यताकै पहिलो पटक सुरक्षाकर्मीभन्दा नागरिकको मृत्युदर बढी भएको महिना फेब्रुअरी २०२५ हो। जनवरीको तुलनामा नागरिक मृत्यु दर १७५ प्रतिशतले वृद्धि भएको छ, जबकि सुरक्षाकर्मीको मृत्यु दर १८ प्रतिशतले घटेको छ।

जनवरी २०२५ मा, २० नागरिक मारिएका थिए, जबकि ५७ सुरक्षाकर्मी सहिद भएका थिए। पाकिस्तानका सुरक्षा बलहरूले आतंकवादविरुद्धको अभियान तीव्र पार्दै १५६ आतंककारीलाई मारेर, २० जनालाई घाइते बनाएको र ६६ जनालाई पक्राउ गरेको छ।

आतंककारी मृत्यु दर पनि २५ प्रतिशतले घटेको छ।  जनवरी महिनामा २०८ आतंककारी मारिएका थिए, तर फेब्रुअरीमा यो संख्या १५६ मा झरेको छ। यद्यपि, आतंककारी पक्राउमा उल्लेखनीय वृद्धि भएको छ। फेब्रुअरीमा ६६ आतंककारी पक्राउ परेका छन्, जुन डिसेम्बर २०२३ यताकै उच्च संख्या हो ।डिसेम्बरमा १३९ पक्राउ परेका थिए।

पाकिस्तानको बलोचिस्तान फेब्रुअरी महिनामा सबभन्दा अशान्ति प्रान्त रह्यो, जहाँ ३२ आतंककारी हमला भए। यी आक्रमणमा ५६ जनाको मृत्यु भयो, जसमा ३५ नागरिक, १० सुरक्षाकर्मी र ११ आतंककारी थिए। साथै, ४४ जना घाइते भए, जसमा ३२ सुरक्षाकर्मी र १२ नागरिक रहेका छन्।

यस्तै, खैबर पख्तुनख्वामा २३ आतंकवादी हमला भए। यी आक्रमणमा १४ सुरक्षाकर्मी र १२ नागरिक मारिए, भने २२ सुरक्षाकर्मी र २२ नागरिक घाइते भए।

Back to top