रक्षा खर्च बढाउन अमेरिकाले गरेको आग्रहलाई जापानका प्रधानमन्त्री शिगेरु इसिबाले अस्वीकार गरेका छन्। जापानले आफ्नो रक्षा बजेट आफैँ तय गर्नुपर्ने उनले बताएका छन्।
माथिलो सदनको बजेट बैठक समितिमा बुधबार मन्तव्य राख्ख्ने क्रममा उनले जापानले आफ्नो रक्षा बजेट आफैँ निर्धारण गर्ने भन्दै अरू देशको निर्देशनमा आफ्नो निर्णय नगर्ने बताए।
ट्रम्प प्रशासनले नीतिका लागि रक्षा सचिवमा नियुक्त गरेको एल्ब्रिज कोल्बीले जापानले आफ्नो रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको ३ प्रतिशतमा पुर्याउनुपर्ने बताएपछि उनको यो टिप्पणी आएको हो।
जापानका मुख्य क्याबिनेट सेक्रेटरी योशिमासा हयाशीले बुधबार एक पत्रकार सम्मेलनमा जापान सरकारले आर्थिक वर्ष सन् २०२७ सम्ममा रक्षा खर्चलाई कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पुर्याउने दिशामा काम गरिरहेको बताए।
इसिबाले रकमभन्दा पनि रक्षा क्षमताको वस्तुमा ध्यान दिनु पर्नेमा जोड दिए। जापानले आफ्नो सन् २०२२ को राष्ट्रिय सुरक्षा रणनीतिमा रक्षा खर्चलाई आर्थिक सन् २०२७ मा कुल गार्हस्थ्य उत्पादनको २ प्रतिशतमा पुर्याउने लक्ष्य राखेको थियो।