×

वीरगञ्ज । “सीप र कलाको धनी” भन्ने वाक्यांश दलित समुदायका लागि यत्तिकै प्रयोग गरिएको होइन । यस कुराको प्रत्यक्ष प्रमाण पर्सा जिल्लाको धोबिनी गाउँपालिका–४, बखरीका ४६ वर्षीय सुरेन्द्र बैठाले बनाएका सुन्दर मूर्तिहरू हुन् । उनी पछिल्लो तीन दशकदेखि मूर्तिकला क्षेत्रमा सक्रिय छन् र आफ्नो सीपलाई निरन्तरता दिँदै आएका छन् । 

बाल्यकालदेखि नै कलाप्रति विशेष रुचि राख्ने सुरेन्द्रले मूर्ति बनाउने सीप आफ्ना अग्रजहरूबाट सिकेका हुन् । परम्परागत रूपमा चल्दै आएको यो पेशालाई उनले नजिकबाट अवलोकन गरे र सानै उमेरदेखि अभ्यास गर्न थाले । लामो समयको अनुभवले गर्दा उनले मूर्तिहरूलाई थप आकर्षक बनाउन विभिन्न प्रविधि र शैली अपनाएका छन् ।

सरस्वती पूजाको संघारमा वीरगञ्जस्थित लालबंगलामा उनी अहिले अत्यन्त व्यस्त छन् । विशेषगरी सरस्वती माता, विश्वकर्मा, गणेश, दुर्गा, लक्ष्मी तथा अन्य देवी–देवताको मूर्ति बनाउन उनी माहिर छन् । यस्तै, दशै, तीज, यज्ञ तथा अन्य धार्मिक कार्यका लागि पनि उनी मूर्तिहरू बनाउँछन् ।

सुरेन्द्र बैठाले मूर्तिहरू बनाउन माटो, काठ, पराल तथा अन्य परम्परागत सामग्रीहरूको प्रयोग गर्छन् । मूर्तिको आधार तयार गरेपछि उनले त्यसमा विभिन्न रङहरूको संयोजन गर्छन् जसले मूर्तिलाई झन् आकर्षक बनाउँछ । “हरेक मूर्ति बनाउन दिनरात मेहनत गर्नु आवश्यक हुन्छ, किनकि सानो गल्तीले सम्पूर्ण सिर्जनालाई प्रभाव पार्न सक्छ,” उनले भने ।

विशेषगरी ठूला मूर्तिहरू बनाउन उनले सहकर्मीहरूको मद्दत लिन्छन् भने साना मूर्तिहरू भने उनी एक्लै तयार गर्छन् । उनले बनाएका मूर्तिहरू वीरगञ्जलगायत छिमेकी जिल्लाहरूमा समेत आपूर्ति गरिन्छन् ।

सुरेन्द्र बैठाका लागि मूर्तिकला केवल सीप मात्र होइन, यही पेशाले नै उनको जीवन धानेको छ । “जीवन गुजाराका लागि यो नै मेरो प्रमुख आधार हो”, उनी भन्छन्, “सीप छ भने काम पाइन्छ, मेहनतअनुसारको मूल्य पाएर मन पनि खुशी हुन्छ ।”

तर, प्रविधिको विकाससँगै अहिले मूर्तिकला क्षेत्रमा केही चुनौतीहरू पनि छन् । प्लास्टिक तथा तयार मूर्तिहरू बजारमा पाइने हुँदा परम्परागत मूर्तिकारहरू प्रतिस्पर्धामा पछि पर्न थालेका छन् । यद्यपि, सुरेन्द्र जस्ता कलाकारहरू अझै पनि आफ्नै परम्परागत सीपलाई निरन्तरता दिइरहेका छन् ।

कलात्मक सीप भएका मूर्तिकारहरूलाई उचित संरक्षण र प्रवद्र्धन गर्न सकेमा उनीहरूको भविष्य अझ उज्ज्वल बन्न सक्छ । स्थानीय निकाय, संस्कृति सम्बन्धी संस्था तथा सरकारबाट यस्ता कलाकारहरूलाई प्रोत्साहन गरिनुपर्छ ।

सुरेन्द्र बैठा भन्छन्, “हामीले बनाएका मूर्तिहरूले समाजको संस्कृति जोगाउँछ, धार्मिक आस्था बढाउँछ । यो पेशाले धेरैलाई रोजगारी दिन सक्छ, यदि राज्यले सहयोग गर्यो भने अझै व्यापक बनाउन सकिन्छ ।”


 

Back to top