वीरगञ्ज । मध्य तराईकै पहिलो रेडियो रेडियो वीरगञ्जबाट साढे एक दशकभन्दा लामो समयदेखि निरन्तर गुञ्जिरहेको आवाज हो— नीलिमा पौडेलको । उनी आफ्नो मिठासपूर्ण आवाज र ओजपूर्ण उद्घोषणका कारण श्रोतामाझ अत्यन्त लोकप्रिय छिन् ।
“तिम्रो आवाजमा क्या मिठास छ, साँच्चै तिमी त बोल्नकै लागि जन्मिएकी हौ” साथीहरूले भन्ने कुरालाई उनले प्रमाणित गर्दै रेडियो क्षेत्रमा आफ्नो छुट्टै पहिचान स्थापित गरेकी छिन् ।
नीलिमा वीरगञ्जकै कन्या माविबाट एसएलसी उत्तीर्ण गर्दै हरि खेतान बहुमुखी क्याम्पसबाट प्लस टु (शिक्षा सङ्काय) अध्ययन गरिन् । एसएलसी दिने बेलामै रेडियो वीरगञ्जमा पार्ट–टाइम काम गर्न सुरु गरेकी उनले रेडियो उद्घोषणको तालिम लिएर आफ्नो यात्रा थालेकी थिइन् । होटेल सम्झनामा तालिमको आयोजना गरिएको थियो । रेडियोमै तालिमको विज्ञापन सुनेपछि एक हप्ताको तालिममा सहभागी भइन् । तालिममा सक्रिय पूर्वक सहभागी भएसँगै उनले रेडियो वीरगञ्जमा काम गर्ने अवसर पाइन् ।
तालिममा उत्कृष्ट भएरै रेडियोमा अन्तरवार्ता दिन पुगेकी निलीमालाई पहिलो पटक रेडियोको गेटमा प्रवेश गर्दा पनि मनमा उत्साह र उमङ्ग थियो । अन्तरवार्तामा छनौट भएपछि ठुलै युद्ध नै जितेको जस्तो आभास भएको थियो उनलाई ।
बाल्यकालदेखि नै उनले रेडियो उद्घोषणमा लाग्ने प्रेरणा लिएकी थिइन् । विद्यालय स्तरमा हुने वक्तृत्वकला प्रतियोगिताहरूमा निरन्तर प्रथम स्थान हासिल गर्दा उनलाई बोल्न सक्ने रहेछु भन्ने भान भयो । जसले उनलाई बोलेरै जीवन निर्वाह गर्ने बाटोमा डोर्यायो ।
रेडियो वीरगञ्जमा पहिलो पटक ‘होलिडे मस्ती’ नामक कार्यक्रमबाट अनएयर भएकी निलीमाले भोजपुरी कार्यक्रम ‘जिजा साली’, ‘तपाईँको रोजाई’, ‘सङ्स अन डिमान्ड’, ‘म्युजिक एन्ड मोर’ लगायत दर्जनौँ मनोरञ्जनात्मक र सन्देशमूलक कार्यक्रम सञ्चालन गरिन् ।
लाइब्रेरीमा गीतका क्यासेटहरू मिलाउने काम गर्दै सुरु भएको उनको रेडियो यात्रा कार्यक्रम प्रस्तोता, समाचार वाचिक, र कार्यक्रम संयोजकको भूमिकासम्म पुगेको छ ।
रेडियोसँग गहिरो नाता
पौडेल भन्छिन्, “मेरो दोस्रो घर नै मेरो अफिस हो ।” नीलिमा रेडियोसँगको आफ्नो लामो सम्बन्धलाई सम्झिँदा भावुक हुन्छिन् । सहकर्मी र व्यवस्थापकको सहयोग, श्रोताहरूको माया, र परिवारको समर्थनका कारण उनी निरन्तर अगाडि बढिरहेकी छन् । उनलाई कहिल्यै पनि रेडियोमा बोल्न ‘बोर’ लागेन । १७ वर्ष भयो उनी बोलेरै नथाकेको, र कहिले बोलेर थाक्छु जस्तो पनि उनलाई लाग्दैन ।
‘रेडियोमा बोल्दा चिठी पठाउने, भेट्न खोज्ने र प्रेम प्रस्ताव राख्नेहरूको पनि कमी थिएन’, पौडेलले विगतमा रेडियो जक्कीको क्रेज सम्झिइन् । रेडियोमै समाचार र कार्यक्रम सुनेर सकिने बेलामा बेलामा रेडियोको गल्लीमा आउनेहरूको जमात पनि कम थिएन उति बेला ।
अर्कोतिर समाचारमा मेरो नाम आएन, मेरो समाचारलाई अन्तिममा पढ्नुभयो, प्राथमिकता दिनुभएन भनेर झगडा गर्न खोज्नेहरूलाई पनि उनले स्मरण गरिन् ।
सामाजिक बाधाहरू, आर्थिक समस्याहरू र व्यक्तिगत चुनौतीहरूबिच पनि उनले कहिल्यै रेडियो छोड्ने सोच बनाइनन् । “वीरगञ्जमा हुँदासम्म मैले रेडियो वीरगञ्जको विकल्प नै देखेकी छैन ।” उनी भन्छिन् ।
रेडियो क्षेत्रमा सुधारको आवश्यकता
रेडियो क्षेत्रमा देखिएको प्रतिस्पर्धाको अभाव र नयाँ प्रतिभाको गुणस्तरप्रति चिन्ता व्यक्त गर्दै नीलिमा भन्छिन्, “पहिला रेडियोमा छनोटका लागि ठूलो प्रतिस्पर्धा हुन्थ्यो । अहिले चाहिँ कसैले पनि तयारी नगरी, ज्ञान बिना नै रेडियोमा आउन थालेका छन् । यसले रेडियोको स्तर खस्किएको छ ।”
रेडियो जक्की भन्ने बित्तिकै सबै फिल्डको ज्ञान हुनुपर्छ अनि मात्रै बोल्न पाइन्छ भन्ने मान्यता थियो । उनी थप्छिन्, ‘सबैभन्दा पहिला बोली र उच्चारण स्पष्ट हुनुपर्छ । तर अहिले जसले पनि बोली नै स्पष्ट नभएका व्यक्तिहरूलाई रेडियोमा बोल्ने अवसर दिन्छन् । जुन रेडियो क्षेत्र र हामी रेडियोकर्मीहरूको लागि राम्रो हैन ।’
समाचार पढ्न बिहानै पुग्नुपर्ने, चाडबाडका समयमा पनि काममा खटिनुपर्ने, स्वास्थ्य समस्या हुँदासमेत काम गर्नुपर्ने अवस्थाले पनि उनलाई कहिल्यै थकित बनाएन । बिहानै साढे ५ बजेको समाचार पढ्न ५ बजेतिर कार्यालय पुग्नुपर्छ । बिहान अँध्यारो हुन्छ, हुस्सु, कुहिरो लागेको हुन्छ, बाटोमा मान्छेहरू पछि लाग्नेहरू हुन्छन् । आफूलाई जोगाएर हिँड्नुपर्ने हुन्छ । दुर्व्यवहारको प्रयास भएको तितो अनुभव पनि उनले भोगिन् ।
मुखमा घाउ भएर बोल्नै नसक्दा पनि समाचार पढेको अनुभव छ उनीसँग । खोकी लाग्दा औषधी खाएर काम गरेको, दशैको टीका लगाएरै समाचार पढेको, तिहारमा समाचार पढेर भाइटिका लगाउन कुद्नुपरेको जस्तै थुप्रै उदाहरण उनीसँग प्रशस्त छन् । यति हुँदा पनि उनी बोलेर अघाएकी छैनन् । आत्मविश्वास र श्रोताहरूको माया उनको ऊर्जा बने ।
निलीमाले १७ वर्षको अनुभवबाट रेडियोको महत्त्व र चुनौतीलाई राम्ररी बुझेकै कारण यसलाई अझ मजबुत बनाउन सुझाव दिन्छिन् । उनी भन्छिन्, “सामाजिक सञ्जालको बढ्दो प्रभावले रेडियोको पुरानो महत्त्व घटाए पनि गाउँघर र बिहानको समय रेडियो श्रोताहरूको प्रिय माध्यमकै रूपमा रहेको छ ।”
दिवङ्गत आमा भगवती पौडेल र बुबा विजय पौडेलको मार्गदर्शन तथा भाइहरू विक्की र विक्रमको सहयोगले नै निलीमाको यात्रा सहज भएको हो । समाजले मिडियामा महिलाका लागि अवसर सीमित देख्ने सोचलाई बेवास्ता गर्दै परिवारले उनलाई आत्मनिर्भर बनाउन प्रेरित गर्यो । रेडियोमा लागेर छोरी बिग्रिई भन्ने समाजको टिप्पणीलाई पौडेलले गलत साबित गरिन् ।
रेडियोमार्फत आवाजविहीनका समस्या उठाउन पाउँदा निलीमालाई गर्व महसुस हुन्छ । “समस्या समाधान भएको देख्दा मलाई अझ काम गर्न प्रेरणा मिल्छ,” उनी भन्छिन् ।
बोलेर नथाक्ने नीलिमा
रेडियोसँगै कार्यक्रम उद्घोषणमा पनि उनको विशेष रुचि छ । आत्मविश्वास बलियो भयो भने असम्भव जस्तो देखिने कुराहरू पनि सम्भव हुन्छन् भन्ने उनी मान्छिन् । सुरुका दिनमा उनलाई पनि डर लाग्थ्यो, गल्ती हुन्थ्यो, तर ती गल्तीहरूबाट सिक्दै, सुधार गर्दै, म सक्छु भन्ने अठोटले अघि बढिन् । समयसँगै उनले आफूलाई निखारिन्, प्रशंसा पाउन थालिन्, र उद्घोषणलाई आफ्नो पेसा बनाइन् । फलस्वरूप अहिले वीरगञ्जसँगै समग्र पर्सा बारामा कुनै पनि औपचारिक कार्यक्रम हुँदा उद्घोषणका लागि निलीमालाई नै सम्झिनुपर्छ ।
अहिले मानिसहरूले उनलाई चिन्छन्, रुचाउँछन्, र कार्यक्रममा बोल्न पाउँदा उनी गर्व र खुसी महसुस गर्छिन् । साथै, उद्घोषणबाट राम्रो आम्दानी पनि हुने भएकाले यसले थप ऊर्जा दिएको उनी बताउँछिन् ।
तर, यो पेसामा समस्या पनि कम छैनन् । कतिपयले उद्घोषकको मेहनतलाई बुझ्दैनन् र एक छिन बोलेको पनि यति धेरै पैसा दिनुपर्छ भन्ने सोचाइ राख्छन् । कहिलेकाहीँ काम गरेपछि पारिश्रमिकसमेत समयमै प्राप्त नगर्ने समस्यासँग पनि जुध्नुपर्छ । दुई घण्टाको कार्यक्रमका लागि पूरै दिन खर्चिनुपर्ने जस्ता चुनौतीहरू भए पनि रुचि र आत्मसन्तुष्टिका कारण उनले यो पेसालाई निरन्तरता दिइरहेकी छन् ।
उनको विचारमा बोलेर कोही सानो वा ठूलो हुँदैन, तर मीठो र सकारात्मक बोल्न आवश्यक छ । बोली नै व्यक्तित्वको प्रमुख आधार हो । उनी भन्छिन्, “बोल्दिन भनेर घमन्ड गरेर बस्दिन, बोलीले नै सबैले रुचाउँछन् ।”
नयाँ जिम्मेवारी
उनी भर्खरै सम्पन्न नेपाल पत्रकार महासङ्घ पर्साको उपाध्यक्ष (महिला) पदमा पनि निर्वाचित भएकी छन् । यसअघिको निर्वाचनमा सोही पदमा पराजित भएकी पौडेलले त्यो भन्दा पहिले जिल्ला सहसचिव भएर काम गरेको अनुभव पनि बटुलिसकेकी छन् । उनी नेपाल प्रेस युनियनकी केन्द्रीय सदस्य पनि हुन् । महासङ्घमा निर्वाचित भएसँगै उनले महिला पत्रकारको हकहित र अधिकारका लागि वकालत गर्ने दृढता व्यक्त गरेकी छन् । महासङ्घलाई महिला मैत्री बनाउनुका साथै महिला पत्रकारलाई अवसरको सृजना गर्नेतर्फ अग्रसर हुने उनको योजना छ ।