×

साङ्केतिक तस्बिर ।

वीरगञ्ज । आइफोन १६ सार्वजनिक हुनुभन्दा अगाडि नै यसमा नयाँ साइड बाई साइड क्यामेरा डिजाइन हुने चर्चा भएको थियो । यसले विशेष गरी भिजन प्रो हेडसेटका लागि उपयुक्त हुने स्पेसियल भिडिओ खिच्न ठाडो क्यामेरा डिजाइन प्रस्तुत गर्न सक्ने अनुमान गरिएको थियो । तर, यस्तो डिजाइन आइफोन १६ को बेस र प्लस भेरियन्टमा मात्र देखियो, जबकि प्रो र प्रो म्याक्स भेरियन्टमा पुरानै क्यामेरा डिजाइन राखिएको थियो ।

एक विश्वसनीय अन्तर्राष्ट्रिय लिकरले अब तेर्सो डिजाइनको क्यामेरा आइफोन १७ मा उपलब्ध हुने खुलासा गरेका छन् । यो डिजाइन पहिले नै गुगल पिक्सेल नाइन प्रोमा प्रयोगमा आइसकेको छ । लिकरले यस किसिमको डिजाइनलाई अन्य स्मार्टफोन निर्माता कम्पनीहरूले पनि अनुकरण गर्ने सम्भावना रहेको जनाएका छन् ।

विबो प्रयोगकर्ता डिजिटल च्याट स्टेसनले पनि आइफोन १७ मा तेर्सो क्यामेरा डिजाइन हुने कुरा पुष्टि गरेका छन् । नाइन टु फाइभ म्याकका अनुसार, यी नै स्रोतहरूले पहिले आइफोन १६ प्रोमा ठूलो आकारको टेलिफोटो क्यामेरा सेन्सर प्रयोग हुने जानकारी लिक गरेका थिए ।

आइफोन १७ को क्यामेरा डिजाइनबारे धेरै विवरण बाहिर आइसकेको भए पनि, यसको लेन्स कति मेगापिक्सेलको हुनेछ भन्ने स्पष्ट भइसकेको छैन । पछिल्लो समयको आइफोन प्रो मोडलमा ४८ मेगापिक्सेलको क्यामेरा प्रयोग गरिएको थियो ।

त्यस्तै, आइफोन १७ को एयर मोडलमा एउटा मात्र क्यामेरा रहने बताइएको छ, जुन अहिलेसम्मकै पातलो मोडेल हुनेछ । यसले आइफोनलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

आइफोन १७ को क्यामेरा डिजाइनमा आएको परिवर्तनले एप्पललाई स्मार्टफोन बजारमा थप प्रतिस्पर्धी बनाउन सक्छ । अबको नयाँ प्रविधिले प्रयोगकर्तामा कस्तो प्रभाव पार्छ भन्ने हेर्न बाँकी छ ।

Back to top