×

काठमाडौं – नेपाली सफ्टवेयर कम्पनी ‘डाइनामिक टेक्नोसफ्ट प्रा.लि.’ले जापानको टोकियोमा नोभेम्बर ६–८ मा आयोजित डिजिटल समिट २०२४ मा प्रतिष्ठित असोसियो एडटेक अवार्ड २०२४ प्राप्त गरेको छ।

यस अवार्डले डाइनामिक टेक्नोसफ्टलाई मोफसलबाट यो अवार्ड जित्ने पहिलो नेपाली आईटी कम्पनी बनाएको छ। असोसियो एसियन-आसियान कम्प्युटिङ इन्डस्ट्री एसोसिएसन, जसमा एसियाका २४ देशका सूचना प्रविधि क्षेत्रका संस्थाहरू आवद्ध छन्, प्रत्येक वर्ष आईटी क्षेत्रमा योगदान पुर्याउने संस्था, कम्पनी तथा व्यक्तिहरूलाई सम्मानित गर्दै आएको छ।

डाइनामिक टेक्नोसफ्टको स्थापना सन् २०१० मा वीरगञ्जमा भएको थियो। मोफसलमा स्थापित भएर पनि कम्पनीले देशका विभिन्न जिल्लामा आफ्नो बलियो उपस्थिति बनाउँदै अन्तर्राष्ट्रिय बजारमा समेत स्थान बनाइसकेको छ।

यस अवार्डले अन्तर्राष्ट्रिय स्तरमा कम्पनीको योगदानलाई मान्यता दिएको र आगामी दिनमा अझ प्रेरित बनाएको सीईओ दीपक साहले बताए। साहका अनुसार कम्पनीले नेपाली आईटी क्षेत्रको सम्भावनालाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ।

“असोसियो अवार्डले हाम्रो प्रयासलाई थप उर्जा दिएको छ,” उनले भने। डाइनामिक टेक्नोसफ्टले विशेषगरी विद्यालय र कार्यालय व्यवस्थापनका लागि ‘डाइनामिक एकेडेमिक ईआरपी’, ‘डाइनामिक एकाउन्ट ईआरपी’, एचआर र पेरोल सफ्टवेयर, ‘डाइनामिक एएमएस’ जस्ता सफ्टवेयर विकास गरेको छ, जुन नेपालभरिका ठूला व्यवसायिक घराना, अस्पताल, उद्योग, संघ-संस्थाहरू, र २,००० भन्दा बढी विद्यालयहरूले प्रयोग गरिरहेका छन्।

विशेषगरी, ‘डाइनामिक एकेडेमिक ईआरपी’ र यसको मोबाइल एप एक हजारभन्दा बढी विद्यालयमा सफलतापूर्वक प्रयोग भइरहेको छ। हाल कम्पनीले नेपालका वीरगञ्ज, काठमाडौं, इटहरी, बुटवल, पोखरा, र जनकपुरमा शाखा विस्तार गरेको छ भने भारतमा पनि आफ्नो बजार विस्तार गर्दैछ।

भविष्यमा कम्पनीले भुटान र बंगलादेश लगायतका एसियाली मुलुकहरूमा पनि आफ्नो सेवा पुर्याउने योजना बनाएको छ। डाइनामिक टेक्नोसफ्टले आफ्नो सेवा विस्तारसँगै नेपालमा रोजगारी सिर्जना गर्दै प्रविधि क्षेत्रमा योगदान पुर्याउने लक्ष्य राखेको छ।

Back to top