×

वीरगञ्ज । विश्वप्रसिद्ध शक्तिपीठ श्री गढीमाई पञ्चवर्षीय मेला २०८१ का लागि सूचना प्रविधि अधिकृतको गरिमामय पदमा प्रतिष्ठित आईटी कम्पनी डाइनामिक टेक्नोसोफ्ट प्रा.लि.का प्रबन्ध निर्देशक दिपक साह नियुक्त भएका छन्।

दिपक साहले सूचना प्रविधि क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् र विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूसँग आईटी सोलुसन र प्रविधि व्यवस्थापनमा उत्कृष्ट योगदान गर्दै आइरहेका छन्। मेला व्यवस्थापन समितिका अनुसार, साहको नियुक्तिले मेलामा सूचनाको प्रवाह तथा सुरक्षा प्रणालीलाई प्रविधिको उच्चतम प्रयोगद्वारा प्रभावकारी बनाउन थप मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

श्री गढीमाई मेला विश्वकै विशाल धार्मिक उत्सवहरूमध्ये एक हो, जहाँ लाखौँ भक्तजन र श्रद्धालुहरूको उपस्थिति रहने गर्दछ। यस मेलामा सूचना प्रविधिको व्यवस्थित व्यवस्थापन अत्यन्त आवश्यक मानिन्छ। साहले मेलाका लागि डिजिटल सूचना प्रणाली स्थापना गर्दै आगन्तुकहरूलाई सूचना प्रवाहलाई सुव्यवस्थित गर्न योजना बनाइसकेका छन्। साथै, मेलामा सहभागी हुने भक्तजनहरूका लागि सुरक्षा, सुविधा, र सूचनाको पहुँचलाई प्राथमिकतामा राखेर डिजिटल उपकरण तथा प्रणालीको विकास गर्ने योजना रहेको जनाइएको छ।

यस महत्त्वपूर्ण जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न दिपक साहले मेलाका सम्पूर्ण जानकारी, सूचना प्रवाह, र अन्य डिजिटल माध्यमहरूलाई एकीकृत गरि सञ्चालनमा ल्याउने तयारी गरिरहेका छन्।

Back to top