×

फाइल तस्बिर ।

वाशिंगटन डीसी । अमेरिकी राष्ट्रपति चुनावकी प्रतिद्वन्द्वी डेमोक्रेटिक उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसले डोनल्ड ट्रम्पलाई जितको लागि बधाई दिँदै आफ्नो हार स्वीकार गरेकी छन् ।

आफ्नो सम्बोधनका क्रममा ह्यारिसले शान्तिपूर्ण शासन हस्तान्तरणको लागि ट्रम्पलाई सहयोग गर्न आह्वान गरेकी हुन् ।

ह्यारिसले सबै अमेरिकी जनताका लागि राष्ट्रपति बन्न पनि ट्रम्पलाई सुझाब दिइन् ।  ह्यारिसले आफू वर्तमान राष्ट्रपति जो बाइडनसँग मिलेर सत्ताको शान्तिपूर्ण हस्तान्तरण गर्न कार्यमा लाग्ने बताइन् । ह्यारिसले राष्ट्रपतीय चुनावबारे ब्रिफिङ लिनुभएको र आन्तरिक कर्मचारी बैठकमा भाग लिएकी छन् । 

चुनावमा पराजय भोगेपछि हावर्ड विश्वविद्यालयमा आयोजित आफ्नो पहिलो सम्बोधनमा ह्यारिसले आफ्ना समर्थकहरूलाई ट्रम्पको जित स्वीकार गर्न समेत अपिल गरिन् । उनले आफ्ना समर्थकहरूलाई आफ्नो आदर्शका लागि ‘कहिल्यै हार नमान्न’ समेत आश्वासन दिइन् ।  चुनावको नतिजा आफूहरूले चाहेको जस्तो नआएको भन्दै आफ्ना समर्थकहरूलाई निराश नहुन आग्रह गरिन् । 

यसैबिच राष्ट्रपति जो बाइडनले समेत ट्रम्पलाई फोनमार्फत जितको बधाई दिँदै शान्तिपूर्ण ढंगले सत्ता हस्तान्तरणका लागि आफ्ना प्रतिबद्धता व्यक्त गरे । बाइडनले ट्रम्पलाई ह्वाइट हाउसमा वार्ताका लागि आमन्त्रण गरे ।

अमेरिकामा मङ्गलवार भएको राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डेमोक्रेटिक पार्टीकी उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्दै अमेरिकाको ४७ औं राष्ट्रपतिमा निर्वाचित भए । बहुमतका लागि आवश्यक पर्ने २७० इलेक्टोरल भोटमा ट्रम्पले २९४ मत प्राप्त गरेका छन् भने ह्यारिसले २२३ मत रहेको छ । केही ठाउँमा मतगणना जारी छ । ट्रम्पले जनवरी २० मा राष्ट्रपतिको रूपमा शपथ लिनेछन् ।

Back to top