×

फाइल तस्बिर ।

वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका–४ लंगडीस्थित स्वास्थ्य चौकीको प्रयोगशालामा विद्युत् आपूर्ति नहुँदा अत्याधुनिक उपकरणहरू साढे दुई वर्षदेखि प्रयोगविहीन बनेका छन् । 

मधेस प्रदेश सरकारले उपलब्ध गराएको ३८ लाख रुपैयाँ मूल्य बराबरका बायोक्यामेस्ट्री एनलाइजर (लिभर, किड्नी, लिपिड प्रोफाइल जाँच गर्ने मेसिन) तीन फेजको विद्युत् लाइन नहुँदा सञ्चालनमा आउन नसकेको हो ।

कलेजो, मिर्गौला, र लिपिड प्रोफाइल जाँच गराउन आउने बिरामीहरू मेसिन नचल्दा समस्या भोग्न बाध्य छन् । उनीहरूलाई अन्यत्र रगत परीक्षण गराउन जानुपर्ने बाध्यता रहेको छ ।

स्वास्थ्य चौकीका एक प्राविधिकले बताएअनुसार, मेसिन सञ्चालनका लागि २०० भोल्टभन्दा माथिको विद्युत् आवश्यक पर्ने भए पनि हाल प्रयोगशालामा मात्र १३० भोल्टको आपूर्ति भइरहेको छ । भोल्टेज नपुग्दा प्रयोगशालामा एसीसमेत चल्न सकेको छैन, र मेसिनलाई हिट हुनबाट बचाउन चार वटा पङ्खा जडान गरिएको छ ।

२०७९ वैशाख १९ मा सञ्चालनमा आएको प्रयोगशालाका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाले कर्मचारी, उपकरण, र केमिकल उपलब्ध गराएको थियो । तर, आवश्यक विद्युत् आपूर्तिका लागि गाउँपालिका कार्यालयले पहल नगर्दा उपकरणहरू थन्किएका छन् ।

स्थानीय बासिन्दा लालबाबु बनियाले जनताको स्वास्थ्यसँग सम्बन्धित यति गम्भीर विषयमा गाउँपालिका संवेदनशील नभएको भन्दै चिन्ता व्यक्त गरे । ‘विद्युत् आपूर्तिको लागि पटक-पटक निवेदन दिए पनि सरोकारवालाहरूले चासो दिएका छैनन्, जसका कारण जनताले सास्ती खेप्नुपरेको छ,’ उनले भने ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सञ्जय यादवले उक्त समस्या समाधानका लागि तीन फेज लाइन जडान गर्न ५ लाख रुपैयाँ छुटाइएको जानकारी दिए । ‘गत वर्ष पनि बजेट विनियोजन गरिएको थियो, तर काम सम्पन्न हुन सकेन । यसपालि छठ पर्वपछि जडान हुनेछ,’ उनले भने ।

आजको कान्तिपुर दैनिकमा यो खबर भूषण यादवले लेख्नुभएको छ ।

Back to top