वीरगञ्ज । असोज दोस्रो साता दुई दिनसम्म परेको अविरल वर्षाले वीरगञ्ज महानगरपालिकाका तीन वडाका करिब ५० बिघा धान खेत डुबानमा परेको छ । गत असोज ११ र १२ मा परेको वर्षाले १९ दिनसम्म निकास नपाउँदा धान बाली नष्ट हुने अवस्थामा पुगेको छ ।
अविरल वर्षाले पानी जम्न गएका वडामा दुर्गन्ध फैलिएको छ, जसका कारण लामखुट्टेको बिगबिगी बढेको छ । स्वास्थ्यकर्मीहरूले चेतावनी दिएका छन् कि यदि यही अवस्था कायम रह्यो भने डेंगी र इन्सेफ्लाइटिसको सङ्क्रमण फैलिन सक्छ ।
विगतमा नहरको क्यानल र दुई वटा ह्युमपाइपबाट खेतको पानीलाई निकास दिइँदै आएको थियो । तर, अहिले क्यानल पुरेर पक्की सडक निर्माण गरिएको छ र ह्युमपाइप जाम भएका कारण वडा नम्बर २६ सुगौलीविर्ता, वडा २० हरपतगञ्ज र वडा २४ बहुअरीको पानी निकास नपाएको हो ।
तीन वडाको पानीको निकास वडा नम्बर १७ अलौँस्थित आईसीपी चोकबाट हुने गर्दथ्यो । पहिलेदेखि वर्षाको पानी सो स्थानमा राखिएका ह्युमपाइपबाट निकास हुँदै आएको थियो । यस पटक भने ह्युमपाइप जाम भएकाले सुगौलीविर्ता, हरपतगन्ज र बहुअरी अहिलेसम्म डुबानमुक्त हुन सकेका छैनन् ।
असोज १८ मा जेसीबीद्वारा ह्युमपाइपको जाम हटाएर पानीको निकास गरिएको थियो। तर, साँझ अलौँवासीले अर्को वडाबाट आएको पानीले आफ्नो घर र खेत डुबानमा पर्ने भन्दै ह्युमपाइप पुरिदिएका थिए । नगर प्रहरीको सहयोगमा वडा सदस्य आमोद यादवलगायतको टोलीले पुनः ह्युमपाइपको जाम खोल्न खोज्दा विवाद उत्पन्न भएको थियो। अलौँ निवासी सुदर्शन लामिछानेले वडा सदस्य यादवलाई दुर्व्यवहार गरेपछि कुटाकुटसमेत भएको थियो ।
तीन वडाका स्थानीयको गुनासो आएपछि, गत असोज २१ मा मेयर राजेशमान सिंहले महानगरको प्राविधिक र नगर प्रहरी सहितको टोली लिएर निरीक्षणमा जाँदा विवाद भएको थियो । मेयर सिंहले भने, “डुबानमा परेको धान खेतको पानी कसरी निकास दिन सकिन्छ भनेर प्राविधिकसहितको टोली लिएर जाँदा ममाथि दुर्व्यवहार भयो ।”
उनका अनुसार निरीक्षणका क्रममा अलौँ निवासी शिवओम लामिछानेले दुर्व्यवहार गरेका थिए, तर लामिछानेले भने मेयरले दुर्व्यवहार गरेको आरोप लगाएका छन् । विवाद बढेपछि लामिछानेका छोरा सुदर्शन लामिछानेको टाउकोमा चोट लागेको थियो। मेयरले दुर्व्यवहार गरेको भन्दै काँग्रेस नेता समेत रहेका लामिछानेका समर्थक धर्नामा बसेका थिए ।
आजको कान्तिपुर दैनिकमा यो समाचार भूषण यादवले लेख्नुभएको छ ।