×

धान नेपालको एक महत्वपूर्ण खाद्यान्न बाली हो र धान खेतीमा आधारित पद्धति खाद्य सुरक्षा, गरीबी उन्मूलन एवम राम्रो जीवनस्तरको लागि एकदमै जरुरी छ। वि.स. २०८० सालको तथ्यांक अनुसार नेपालमा धान खेती करीब १४ लाख ४७ हजार हेक्टर जमीनमा हुने गरेको छ यसको औषत उत्पादन ३.७८ मेट्रिक टन प्रति हेक्टर छ ।

जुन हाम्राे छिमेकी राष्ट्रहरूको तुलनामा धेरै कम हो। नेपालको कुल ग्राहस्थ उत्पादनमा करीब २४ प्रतिशत कृषि क्षेत्रको योगदान छ । यसर्थ मुख्य बाली धानको उत्पादन वृद्धि हुँदा कुल ग्राहस्थ उत्पादनमा वृद्धि भई किसानहरुको आर्थिक स्थिति सुधार हुने देखिन्छ । नेपालमा सबैभन्दा धेरै धान उत्पादन हुने जिल्ला झापा हो भने सबैभन्दा कम धान उत्पादन हुने जिल्ला मुस्ताङ हो ।

नेपालमा धान खेती समुद्री सतहदेखि ६० मिटर उचाईमा अवस्थित झापाको केचनाकलन देखि ३०५० मिटर उचाईमा रहेको जुम्लाको छुमचौर सम्म गरिन्छ । हुन त धान बालीमा धेरै रोगहरुले नोक्सान पुर्याएको देखिन्छ। जसमध्ये पाइरीकुलेरिया ओराइजी नामक ढुसीले हुने मरुवा/ब्लास्ट रोग नेपालको धान बालीमा लाग्ने एक महत्वपूर्ण रोग हो यसले बाली उत्पादनको ५०-१०० प्रतिशत सम्म क्षती गरेको पाइएको छ।

रोगको लक्षण पातमा स-साना सेता टीका बीचमा भएका लाम्चिला खैरा थोप्ला देखा पर्दछन। बाला देखि तलको डाँटको वरिपरि वा आँख्लामा खैरो रंग भएको दाग पनि देखिन्छन् । थोप्ला जोडिदै जाँदा पुरै पात डढेको देखिन्छ। रोग फैलिने उपयुक्त वातावरण औषत २४ डिग्री सेल्सियस तापक्रम, ८० प्रतिशत भन्दा बढि सापेक्षिक आद्रता, अधिक नाइट्रोजन युक्त मलको प्रयोग, लगातार १२ घण्टा सम्म पात भिज्नु , संवेदनशिल जातको प्रयोग गर्नु आदीले रोग फैलिन मद्दत गर्दछ ।

रोगको ब्यवस्थापन

१. परम्परागत विधि बाली चक्र अपनाउने, उपयुक्त मात्रामा नाइट्रोजन युक्त मलको प्रयोग गर्ने, अगौटे जातको प्रयोग गर्ने र बोट देखि बोटको दूरी (२० × २० से.मि.) कायम गर्ने खेत आली तथा वरिपरी रहेका झारपात हटाई खेत सफा राख्नाले यो रोगको संक्रमण कम गर्न सकिन्छ ।

२. रोग अवरोधक जातहरु तराईको लागि राधा- ४ , हर्दिनाथ- १, आई.आर. २० जस्ता जातहरू लगाउने। पहाडको लागि लेकाली -१ खुमल -४ जस्ता जातहरू लगाउने त्यस्तै सुक्खा हुने क्षेत्रमा सुक्खा धान - १, सुक्खा धान - २ जस्ता जातहरुको छनाैट गर्ने ।

३. जैविक विधि ट्राइकोडर्मा नामक फाईदाजनक ढुसी ५ ग्राम प्रति किलो ग्रामका दरले बिउ उपचार गर्ने अथवा अर्को फाईदाजनक ढुसी स्यूडोमोनास १० ग्राम प्रति किलो ग्रामका दरले बिउ उपचार गर्ने ।

४. रासायनिक विधि धानको ब्याड राख्नु भन्दा पहिला कार्बेन्डाजिम नामक ढुसीनाशक बिषादी २ ग्राम प्रति किलो ग्रामका दरले बिउ उपचार गर्ने। खेतमा ब्लास्ट रोगको समस्या धेरै देखिएमा अन्तिम बिकल्पको रूपमा निम्न लिखीत ढुसी नाशक बिषादीहरु मध्ये कुनै एकलाई १० दिनको अन्तरालमा ४-६ पटक प्रयोग गर्नाले यो रोगलाई नियन्त्रण गर्न सकिन्छ।

क) हेक्साकोनाज़ोल ५% ई.सी. २ ग्राम प्रति लिटर पानीमा मिसाएर छर्ने।

ख) ट्राइसाइक्लाज़ोल ७५% डब्ल्यु.पी. ०.७५ ग्राम प्रति लिटर पानीका मिसाएर छर्ने।

ग) कासुगामाइसिन ३% एस.एल. १.५ मि.ली. प्रति लिटर पानीका मिसाएर छर्ने।

घ) क्रेसोक्सिम-मिथाइल ४४.३ एस.एल. १ मि.ली. प्रति लिटर पानीमा मिसाएर छर्ने ।

सन्दर्भ सामग्रीहरू १. कृषि डायरी (२०८१), कृषि सुचना तथा प्रशिक्षण केन्द्र, हरिहरभवन,ललितपुर । २. बाली रोग किरा पहिचान पुस्तिका (२०७४), बाली संरक्षण निर्देशनालय, हरिहरभवन, ललितपुर ।

Back to top