पेटीएमका संस्थापक विजय शेखर शर्मा सफलताको एउटा अद्भभूत उदाहरण हुन् । दश हजार रुपैयाँ तलबमा काम गर्ने शर्मा अहिले २.४ अर्ब डलरको मालिक भइसकेका छन् । २७ वर्षको उमेरमा विजय शेखर शर्मा महिनाको दश हजार भारु कमाउँथे । त्यो तलब देखेर उनको विवाहसम्म हुन सकिरहेको थिएन ।
शर्मा भन्छन्, ‘२००४-०५ मा मेरो बुबाले आफ्नो कम्पनी बन्द गरेर कसैले ३० हजारसम्म दिए त्यही जागिर गर्न सल्लाह दिनुभएको थियो ।’ २०१० मा शर्माले पेटीएमको स्थापना गरे, जसकाे आईपीओ हालै अढाइ अर्ब डलरमा खुलेको थियो ।
विजय शेखर शर्मा इन्जिनियर हुन् । २००४ मा उनी आफ्नो एउटा सानो कम्पनीमार्फत मोबाइल कन्टेन्ट बेच्थे । शर्माका अनुसार जब केटीका अविभावकहरुले उनको आय थाहा पाउँथे तब उनीहरु उनलाई छोरी दिन अस्वीकार गर्थे । शर्मा भन्छन्, ‘केटी पक्षका मानिसहरुले जब म महिनाको दश हजार रुपैयाँ मात्र कमाउँछु भन्ने कुरा थाहा पाउँथे तब उनीहरु फेरि फर्किएर आउदैनथें । म आफ्नो परिवारकाे अयोग्य अविवाहित भएको थिएँ ।’ ४३ वर्षका शर्माको कम्पनी पेटीएमले इनिसियल पब्लिक अफरिङ (आईपीओ) मार्फत २.५ अरब डलर जुटाएको छ ।
यद्यपि यो आईपीओबाट लगानीकर्ताहरुले सुरुमै घाटा व्यहोरे अनि शर्मा केही विवादमा समेत तानिए । फाइनान्स-टेक कम्पनी पेटीएम अहिले भारतको प्रसिद्ध कम्पनीहरुमध्ये एक भइसकेको छ भने यो नयाँ उद्यमीहरुका लागि प्रेरणाको स्रोत पनि बनेको छ । स्कुल अध्यापक पिता तथा गृहिणी आमाका छोरा शर्मा उत्तर प्रदेशको एउटा सानो सहरबाट आएका हुन्।
२०१७ मै उनी सबैभन्दा कम उमेरका भारतीय अरबपति भइसकेका थिए । यद्यपि अहिले पनि उनी सडक छेउमा ठेलामा बेचिने चिया पिउन रुचाउँछन् भने दूध र ब्रेड लिन हिँडेरै नजिकको पसल पुग्छन् । शर्माका अनुसार धेरै पछिसम्म उनका माता-पितालाई उनीहरुको छोरो के गर्छ भन्ने कुरा थाहा थिएन । शर्मा भन्छन्, ‘एकपटक मेरी आमाले हिन्दी अखबारमा मेरो सम्पत्तिका बारेमा पढ्नुभएछ । त्यसपछि उहाँले मसँग सोध्नुभयो के साँच्चिकै तँसँग यति धेरै पैसा छ ?’
फोर्ब्स पत्रिकाले विजय शेखर शर्माको सम्पत्ति २.४ अर्ब डलर अर्थात् करिब ३ खर्ब रुपैयाँ भएको उल्लेख गरेको छ । पेटीएमको प्रारम्भ एक दशक पहिले मात्र भएको हो । त्यतिबेला यो मोबाइल रिचार्ज गरिदिने कम्पनी थियो । ऊबरले भारतमा यो कम्पनीलाई आफ्नो पेमेन्ट पार्टनर बनाएपछि पेटीएमको भाग्योदय भयो ।
पेटीएमका लागि त्योभन्दा ठूलो ब्रेक थ्रु २०१६ मा भारतमा गरिएको नोटबन्दीको साथ भयो । अचानक ५०० र १००० का ठूला नोट बन्द गरिएपछि डिजिटल पेमेन्टले स्वत: प्रश्रय पायो अनि त्यसले पेटीएम र शर्माकाे भाग्य परिवर्तन गरिदियो । नोटबन्दी पछि पेटीएम ठूला-ठूला शोरूमबाट स-साना ठेला-रिक्सा आदिसम्म पुग्यो । जताततै पेटीएमका स्टिकर देखिन थाले ।
सफ्ट बैंक तथा वर्कसर जस्ता मल्टिनेसनल कम्पनीहरुबाट समर्थित पेटीएमले अहिले अन्य उद्योगमा पनि हात हाल्न थालेको छ । यसले सुन बेच्ने, फिल्म बनाउने, हवाई जहाजको टिकटदेखि बैंक डिपोजिटसम्म उपलब्ध गराउने काम गरिरहेको छ । पेटीएमले डिजिटल पेमेन्टको जुन काम भारतमा सुरू गरेको थियो त्यसमा अहिले गुगल, अमेजन, ह्वाट्सअप तथा वालमार्टको फोनपे जस्ता अन्तराष्ट्रीय खेलाडिहरुको प्रवेश भइसकेको छ ।
यसको कारण भारतमा डिजिटल पेमेन्टको बजार २०२५ डलर बाट बढेर ९५२ खर्ब डलरभन्दा बढीको हुनु पनि हो । अन्तर्राष्ट्रिय कम्पनीहरु भारत आएपछि एकपटक त शर्मा आत्तिए पनि । त्यतिबेला उनले सफ्ट बैंकका संस्थापक खर्बपति उद्योगपति मासायोशी सनलाई फोन गरे ।
शर्मा भन्छन्, ‘मैले मासालाई फोन गरेर भने- अब त यहाँ सबै खेलाडी आइसकेका छन्, अब मेरा लागि के बाँकी छ र, तपाईंलाई के लाग्छ ?’ याहु र अलिबाबाजस्ता कम्पनीमा सुरूवाती लगानी गर्ने सनले भने, ‘बढीभन्दा बढी पैसा जुटाऊ र आफ्नो सबै कुरा दाउमा लगाऊ ।’
सनले भने ती कम्पनीहरुका लागि यो प्राथमिक बिजनेस होइन, पेटीएमलाई पेमेन्ट बिजनेस बनाउन तिमी आफ्नो सारा ऊर्जा लगाऊ । एक छोराका बुबा शर्मा भन्छन्, ‘त्यसपछि मैले पछाडि फर्किएर हेरिनँ । केही बजार विश्लेषकहरु पेटीएमले नाफा कमाउन सक्ने कुरामा सन्देह व्यक्त गर्छन् तर शर्मालाई आफ्नो कम्पनीको सफलतामा कुन सन्देह छैन ।
२०१७ मै पेटीएमले क्यानाडामा एउटा पेमेन्ट एप सुरु गरेको थियो भने त्यसको एक वर्षपछि जापानमा मोबाइल वालेट प्रस्तुत भयो । शर्मा भन्छन्, ‘मेराे सपना छ, पेटीएमलाई म सानफ्रान्सिस्को, न्युयोर्क, लन्डन, हङकङ तथा टोकियोसम्म पुर्याउँ र सबैतिरका मानिसले भनुन् कि यो भारतीय कम्पनी हो ।’