×

गत सोमबार पृथ्वीमा एउटा भयानक सौर्य आँधीले प्रहार गरेको छ। यसका कारण शुरुमा उत्तरी गोलार्द्धमा, त्यसपछि दक्षिणी गोलार्द्धमा मनमोहक रंग छरिएको थियो भने पछि सबैतिर सामान्य उज्यालो देखिएको थियो। एक अमेरिकी संस्थालाई उद्धृत गर्दै चीनको समाचार संस्था सीजीटीएनले यस्तो  उल्लेख गरेको हो।

नेशनल ओशनिक एण्ड एटमस्फियरिक एडमिनिस्ट्रेशन एनओएएमा रहेको विशिष्ट केन्द्रका अनुसार उक्त सौर्य आँधी (लेभल ४ जियोम्याग्नेटिक स्टर्म) सोमबार बिहान ३ बजे देखिएको हो।

के हो लेभल ४ जियोम्याग्नेटिक स्टर्म?

लेभल ४ जियोम्याग्नेटिक स्टर्म भन्नाले पृथ्वीको चुम्बकीय क्षेत्रमा धेरै शक्तिशाली अशान्ति वा अवरोध भएको अवस्थालाई बुझिन्छ। यसलाई केपी स्केलको मा ९ मध्ये ८ अंक दिइएको हुन्छ।

यो स्तरको आँधीले पृथ्वीको ध्रुवीय क्षेत्रहरूमा गम्भीर प्रभाव पार्न सक्छ। यसमा सूर्यबाट आएको धेरै शक्तिशाली कणहरूले पृथ्वीको चुम्बकीय क्षेत्रमा ठुलो असर पार्छन्, जसले गर्दा केही सामान्य प्रभावहरू हुन सक्छन्:

१. विद्युत ग्रिड: यो तूफानले विद्युत ग्रिडहरूमा असामान्य प्रवाह उत्पन्न गर्न सक्छ, जसले विद्युत आपूर्ति रोक्न सक्छ वा ट्रान्सफर्मरहरूमा क्षति पुर्‍याउन सक्छ।

२. सञ्चार प्रणाली: रेडियो सिग्नलहरू, जीपीएस प्रणालीहरू र स्याटेलाइट सञ्चारमा अवरोध वा गडबडी हुन सक्छ।

३. उत्तरी/दक्षिणी आकाशमा देखिने रंग: यो तूफानले ध्रुवीय बत्तीहरूलाई (Auroras) धेरै सुदूर दक्षिण वा उत्तरसम्म देखिने बनाउँछ, जसले सामान्यतया यी क्षेत्रमा देखिने सौन्दर्यशास्त्रीय प्रभावहरू ल्याउँछ।

यसरी वर्गीकरण गरिन्छ जियोम्याग्नेटिक स्टर्मलाई

‘केपी’ नामक संकेतमा मापन गरिने जियोम्याग्नेटिक स्टर्म अर्थात् आँधीलाई तिनीहरुको प्रभाव र शक्तिका आधारमा ९ अंकसम्म प्रदान गरिएको हुन्छ। जसमा ५ अंकसम्मकोलाई न्यून, ६ अंकसम्मकोलाई सामान्य, ७ अंकसम्मकोलाई बलियो वा शक्तिशाली तथा ८ वा त्योभन्दा माथिलाई भयानक भन्ने वर्गमा छुट्याइएको हुन्छ ।

एनओएएले यस प्रकारको अवस्था घण्टौंसम्म देखिइरहन सक्ने तर यसको प्रभाव वा गहनता भने नबढ्ने बताएको छ।

‘भयानक जियोम्याग्नेटिक स्टर्म अर्थात् आँधीका क्रममा दक्षिणमा अलाबामा र उत्तरमा क्यारोलाइनासम्म पर्दा, किरण वा घुमाउरो र गतिशील प्रकाशपुञ्जहरुका रुपमा आकाशैभरी सुन्दर प्रकाशको उपस्थिति देख्न सकिने हुन्छ,’ एनओएएले थपेको छ।

तस्बिर सौजन्य: इरिक लागाडेकको एक्स एकाउन्ट

यो नयाँ सौर्य आँधी कोरोनल मास इजेक्शनका कारण भएको बताइएङ्को छ। कोरोनल मास इजेक्शन भन्नाले सूर्यको कोरोनामा उत्पन्न भई शक्तिशाली तथा अति चुम्बकीय बादलहरु अन्तरिक्षमा फैलने प्रक्रिया हो।

यसबाट पृथ्वीमा रेडियोधर्मी तथा चुम्बकीय गडबडी पैदा हुने गर्दछ। यो प्रक्रियामा सूर्यबाट ससाना चोइटाहरु टुक्रिएर उछिट्टिन्छन् र तिनै चोइटाहरु पृथ्वीमा आएपछि यहाँको चुम्बकीय क्षेत्रलाई असर पार्ने सीजीटीएनको समाचारमा उल्लेख छ।

‘आकाशमा अझै थुप्रै प्रकाशपुञ्जहरु छन् । यदि यो प्रक्रिया रातभर चलिरहने हो भने हामीले तीमध्ये केहीलाई देख्न सक्छौं,’  फ्रान्सको कोट डे अजुर नामक अब्जरभेटरीका खगोलविद् इरिक लागाडेकले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।्

हाल अन्तरराष्ट्रिय अन्तरिक्ष स्टेशनमा रहेका नासाका अन्तरिक्षयात्री म्याथ्यु डोमिनिकले आइतबार एक्समा उत्तरी प्रकाशको उत्कृष्ट तस्बिर पोस्ट गरेका थिए। सीजीटीएनका अनुसार यस प्रकारको आँधीले रेडियोधर्मी पदार्थहरुमा मात्र असर पुर्याउने नभई अन्य अवाञ्छित प्रभावहरु पनि छोड्न सक्छन्। उदाहरणका लागि उच्च फ्रिक्वेन्सीमा हुने सञ्चारलाई असर पार्ने, स्याटलाइटमा गडबडी ल्याउने तथा विद्युतीय ग्रिडमा अझ बढी विद्युतभार थप्ने आदि।

एनओएएका अनुसार यस प्रकारका संवेदनशील संरचना सञ्चालन गर्नेहरुलाई यसको हुनसक्ने प्रभावबारे सचेत हुँदै बचावका लागि आवश्यक तयारी गर्न आग्रह गरिएको थियो। टेक्नोलोजी खबर

Back to top